काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पुनः एमाले प्रवेशबारे पार्टीले छलफल गर्ने बताएका छन्। तर, उनले भण्डारीलाई पार्टी नेतृत्व सुम्पिने विषयमा स्पष्ट असहमति जनाउँदै त्यो सम्भव नभएको बताए।
पत्रकार विजयकुमारलाई दिएको अन्तर्वार्तामा ओलीले भण्डारीसँग एमालेमा फर्किनेबारे कुनै औपचारिक वा अनौपचारिक सल्लाह नभएको दाबी गरे। "उहाँले मसँग सल्लाह गर्नुभएन, पार्टीसँग पनि कुनै औपचारिक कुरा भएको छैन," ओलीले भने।
ओलीका अनुसार भण्डारी एमालेकी पूर्वउपाध्यक्ष भए पनि उनी राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टी छोड्नुपरेको थियो। "उहाँ राष्ट्रपतिमा जान आफ्नै हिसाबले होइन, हाम्रो क्यान्डिडेट भएर जानुभएको हो," ओलीले स्मरण गराए।
भण्डारी एमालेमा फर्कने संकेत दिइरहेकै बेला ओलीको यस्तो प्रष्टोक्ति आएको हो, जसले पार्टीभित्र बहस तातिएको छ। भण्डारीको प्रवेशलाई लिएर एमालेभित्र दुई धार देखिन थालेको छ। एक पक्षले उनलाई स्वागत गर्नुपर्ने बताइरहेको छ भने अर्काे पक्ष उनी निष्क्रिय भएको र संगठनात्मक अनुभव कमजोर रहेको तर्क गर्दै विरोध गरिरहेको छ।
ओलीले भण्डारीलाई नेतृत्व सुम्पिने अड्कलबारे स्पष्ट प्रतिक्रिया दिंदै भने, "उहाँलाई नेतृत्व दिन सकिने अवस्था छैन। राजनीतिक क्रियाशीलता र संगठनात्मक अनुभव त्यति सशक्त छैन।"
भण्डारी एमालेभित्र फर्किए जनमतमा कस्तो प्रभाव पर्छ, र ओलीपछिको नेतृत्वमा कसले स्थान लिन्छ भन्ने बहस अहिले एमालेको रणनीतिक विमर्शको केन्द्रबिन्दु बन्दै गएको छ। पार्टीको भावी अनुहार को हुने भन्ने प्रश्नसँगै यो विषयले थप राजनीतिक तातो ल्याएको छ।