काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दिएको विशेष सम्बोधनले सोमबार राजनीतिक तापक्रम बढायो । कांग्रेस-एमाले गठबन्धन सरकारमाथि तीव्र आलोचना गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दलाल, बिचौलिया र भ्रष्ट संरचनाको संरक्षण गर्ने स्वार्थी गठबन्धनको संज्ञा दिए ।
"सरकार बिचौलियाको इशारामा चलिरहेको छ," उनले भने, "प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्ने प्रमाणित भइसकेको छ ।" सरुवा, नियुक्ति र भूमि आयोगमा खुलेआम लाखौंको डिल हुने गरेको आरोप लगाउँदै प्रचण्डले प्रधानमन्त्री ओलीसँग प्रश्न गरे, "तपाईंका मन्त्री खुल्लमखुल्ला डिल गर्दैछन्, चित्रगुप्तलाई बयान कहाँ दिने ?"
प्रचण्डले सरकारको कार्यशैलीमा सुशासन, सामाजिक न्याय, जनजीविकाको सवाल र आर्थिक समृद्धिलाई उपेक्षा गरिएको आरोप लगाए । "सरकार घोषणामा मात्रै सीमित छ," उनले भने, "फ्लडलाइट जोडिन्छ, प्याराफिट बनाइन्छ भनेर प्रचार गरियो, तर ३०० दिन बितिसक्दा पनि कीर्तिपुर रंगशालामा झिनो प्रगति छैन ।"
उनले सरकारको घोषणात्मक प्रवृत्तिलाई “लोकतन्त्रको अपमान” भन्दै आलोचना गरे । "योजना बनाउन र माइक समातेर उद्घोष गर्न सकिन्छ," उनले तिक्त व्यंग्य गर्दै भने, "तर विकास योजना कार्यान्वयन गर्ने इच्छाशक्ति र दृष्टिकोण सरकारले देखाउन सकेको छैन ।"
प्रचण्डले विगतको गठबन्धन सरकारलाई "अलोकतान्त्रिक गठबन्धन" भन्दै चेतावनी दिएका थिए । अहिले ओली नेतृत्वको गठबन्धनलाई "अप्राकृतिक" र "लोक लाज मेटाउने स्वार्थको खेल" को संज्ञा दिँदै भने, "जनताले यस्ता गठबन्धनको सार बुझिसकेका छन् ।"
संसदमा बोलेका प्रचण्डले प्रमुख सरकारी निकायहरू धितोपत्र बोर्ड, शरणार्थी प्रकरण, विद्युत् बक्यौता मिनाहा, भूमाफिया संरक्षण, स्टक एक्सचेन्ज लाइसेन्स र हतियार खरिदमा पनि दलालको चलखेल भएको दाबी गरे । "प्रधानमन्त्री आफैं अध्यक्ष रहेको सुशासन आयोगको अवस्था के छ भन्ने प्रष्ट छैन," उनले कटाक्ष गरे ।
शिक्षक, राष्ट्रसेवक, चिकित्सक, सहकारी र मीटरब्याज पीडितको आन्दोलनलाई उल्लेख गर्दै प्रचण्डले प्रश्न गरे, "सरकार कसको लागि छ ? आम जनता त सडकमा छन्, सत्तारूढ दलकै कार्यकर्ता असन्तुष्ट छन्, त तपाईंले कसको विश्वास जित्नुभयो ?"
उनले सत्तारूढ कांग्रेस र एमालेका नेता कार्यकर्ता पनि सरकारको कामबाट खुसी नभएको भन्दै भने, "संख्याको दम्भमा कुशासनका पहाड ठडिएका छन् । यो सरकार स्वार्थी र अक्षम दलहरूको अस्वाभाविक गठजोड हो, जसले लोकतन्त्रको आत्मा गुमाइसकेको छ ।"
अन्त्यमा प्रचण्डले पुनः जोड दिए, “मैले पहिले नै भनेको थिएँ — यो सरकार अँध्यारो कोठामा दलालको स्वार्थ पूरा गर्न बनाइएको हो । आज त्यसैको प्रत्यक्ष प्रमाण देखिंदैछ ।” उनले सरकारलाई घोषणामा नभई व्यवहारमा जनताको सेवा गर्ने खालको राजनीतिक चरित्र प्रदर्शन गर्न आग्रह गरे ।