काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सार्वजनिक कार्यक्रममा दिएका अभिव्यक्ति फेरि पूर्वराष्ट्रपति विद्या भण्डारीतर्फ लक्षित देखिएका छन्। २४ जेठमा झापामा आयोजित विज्ञान प्रदर्शनी उद्घाटन कार्यक्रममा भण्डारीको उपस्थिति र त्यसअघि विराटनगरमा स्थानीय तह उपप्रमुखहरूको भेलामा सहभागितालाई ओलीले आफ्नो नेतृत्वविरुद्धको सन्देश ठानेका देखिन्छन्।
ओलीले महाधिवेशनको मिति अझै तय नभएको भन्दै पार्टीभित्र पदका आकांक्षीहरू बाहिर चर्चा फैलाएर पार्टी कमजोर पार्न खोजेको आरोप लगाएका छन्। तर विश्लेषकहरूका अनुसार, ओलीको यो प्रतिक्रिया ‘स्याडो बक्सिङ’ अर्थात् काल्पनिक विरोधीविरुद्ध प्रहारजस्तो देखिन्छ — र त्यो विरोधी विद्या भण्डारी हुनसक्छिन्।
एमाले महाधिवेशन नजिकिँदै गर्दा भण्डारीको सक्रियता राजनीतिक अर्थ राख्न थालेको छ। ‘यदि आवश्यकता पर्यो भने मात्र नेतृत्वमा आउने’ भन्दै आएकी भण्डारीलाई ओलीपछि उपयुक्त विकल्प मान्ने नेताहरूको संख्या बढ्दो छ।
एकातिर, ओलीले भण्डारीलाई राष्ट्रपति बनाउने निर्णयमा भूमिका खेलेको दाबी गर्छन्, अर्कोतिर भण्डारीको राजनीतिक इतिहास, जनसम्पर्क र मदन भण्डारीको लिगेसीले उनलाई एमालेभित्र गम्भीर प्रतिस्पर्धी बनाएको छ।
ओलीले महाधिवेशन, उमेर हदलगायत प्रसङ्ग आफैँ उठाउँदै ‘स्याडो बक्सिङ’ गर्दै जानु, भण्डारीको सम्भावित पुनसंलग्नता र बढ्दो लोकप्रियताप्रति त्रास देखिएको संकेतको रूपमा हेरिएको छ।
एमालेभित्र नेतृत्व परिवर्तनको बहस तात्न थालेका बेला ओलीको यो सतर्कता भण्डारीको ‘शान्त सक्रियता’ प्रतिको चिन्ताबाट प्रेरित देखिन्छ।