काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा आज दिउँसो राजधानी काठमाडौँबाट पक्राउ परेका छन्। सरकारले तोकेको निषेधित क्षेत्रमा जुलुससहित प्रवेश गर्न खोजेपछि उनलाई बालुवाटार क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। थापा सहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो।
थापाको पक्राउप्रति राजावादी दलहरूले विरोध जनाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई ससम्मान रिहा गर्न माग गरेका छन्।
प्रहरीका अनुसार थापालाई भिड उत्तेजित पार्ने अभिव्यक्ति दिएको आरोपमा नियन्त्रणमा लिइएको हो।
राप्रपा अध्यक्ष लिङ्देनले भने, “कमल थापालगायत मानिसलाई यहीँ ल्याइदिनुस्, हैन भने हामी देशभरबाट अरू साथीभाइलाई पनि बोलाउँछौँ। खास लडाइँ भोलिबाट सुरू हुन्छ। हाम्रो भद्रतालाई कमजोरी ठान्नु हुन्छ भने अब हामी एक ठाउँमा भेला नहुई ५० ठाउँबाट निस्कन्छौँ। अहिले नै थापालाई यहाँ ल्याएर ससम्मान फिर्ता नगरे भोलिदेखि काठमाडौं उपत्यकामा बन्द सुरू हुन्छ।”
नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन' समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन सञ्चालन गरिरहेको छ। उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत अन्य दलहरूले समर्थन गरेका छन्।
राजसंस्था पुनःस्थापना, हिन्दू राष्ट्र पुनःस्थापना, र संघीयता खारेजी लगायतका माग राखेर सुवेदी नेतृत्वको समितिले आन्दोलन गरिरहेको छ।
पक्राउ परेका कमल थापा ०६२/०६३ सालको जनआन्दोलनका बेला गृहमन्त्री थिए। पछि गणतन्त्र स्थापनापछि बनेका सरकारहरूमा पनि उनी पटक–पटक मन्त्री बनेका थिए। राप्रपा महाधिवेशनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहबाट असहयोग भएको भन्दै थापाले केही समयअघि राजतन्त्रको मुद्दा छोड्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। तर पछिल्ला केही दिनदेखि उनले पुनः राजतन्त्रको पक्षमा उभिँदै आन्दोलनमा सक्रियता देखाउँदै आएका छन्।
राजावादी दलहरूको आन्दोलनका कारण सरकारले राजधानीका केही महत्वपूर्ण स्थानहरूमा निषेधाज्ञा जारी गरेको छ। जेठ १५ देखि राजावादी दलहरूले निरन्तर आन्दोलन गरिरहेका छन्।