काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै पनि कोणबाट पूर्वराजा पक्षधर आन्दोलनमा समर्थन वा सहभागिता नहुने स्पष्ट पारेको छ।
राजसंस्था पक्षधरहरूले गर्न लागेको आन्दोलनका कमाण्डर नवराज सुवेदीले रास्वपालाई पत्र लेखेपछि राजनीतिक वृत्तमा विभिन्न कोणबाट बहस सुरु भएको थियो। पञ्चायतकालीन नेता सुवेदीले यही जेठ ६ गते रास्वपालाई आन्दोलनमा सहभागी हुन आग्रह गर्दै पत्र लेखेका थिए।
तर, रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले कुनै पनि कोणबाट राजतन्त्रको पक्षमा समर्थन नहुने स्पष्ट पार्दै भने, ‘‘यो बहसको विषय नै होइन। हामी गणतन्त्र र वर्तमान संविधानप्रति स्पष्ट र प्रतिबद्ध छौँ।’’
सरकारसँगको असहमतिको विषय व्यवस्थासँग जोडिन नसक्ने उनको भनाइ छ। ‘‘उनीहरूले पत्र पठाएका हुन्, तर त्यसको जवाफ दिन आवश्यक छैन। हाम्रो विरोध सरकारसँग हो, व्यवस्थासँग कदापि होइन र हुने पनि छैन,’’ अर्यालले राष्ट्रिय समाचार डटकमसँग भने।
राजसंस्था पक्षधरहरूले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनमा विभिन्न पार्टीहरू र प्रभावशाली व्यक्तिहरूलाई सहभागी गराउने प्रयास गरिरहेका छन्।
तर, राजतन्त्र समर्थकहरूको आन्दोलनलाई राज्य पक्षले हिंसात्मक हुन सक्ने शंकासहित हेरिरहेको छ। गत चैत १५ गते भएको आन्दोलनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले ठूलो अराजकता निम्त्याएका थिए।