काठमाडौँ । हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव देखिएको छ।
यसको प्रभावस्वरूप देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती प्रदेशका केही स्थानमा र बाँकी पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात पनि हुन सक्ने सम्भावना छ।
आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
महाशाखाले चट्याङसहित वर्षाको सम्भावना रहेको कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी तथा अन्य क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। यस्तो मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।