काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले कुरा गरेपछि इन्डिया र पाकिस्तानको युद्ध रोकिएको वताएका छन् ।
आफूहरूले संयमित हुन आग्रह गरेका कारण इन्डिया र पाकिस्तानबीचको युद्ध रोकिएको ओलीले दाबी गरे ।
सोमबार लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै ओलीले बुद्धको सन्देश जहिले पनि सान्दर्भिक हुनेबारे चर्चा गर्ने क्रममा भने,’बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य छन्।’
एमाले अध्यक्ष ओलीले इन्डिया र पाकिस्तानबीच झण्डै हात हालाहालको अवस्था भएकोमा आफूहरूले आग्रह गरेपछि त्यो रोकिएको अभिव्यक्ति सगौरव सुनाएका थिए । ‘इन्डिया र पाकिस्तानबीच झण्डै–झण्डै हात हालाहालको स्थिति आएको थियो। हामीले संयमित हुन आग्रह गर्यौँ ,’ उनले भने।
साथै, उनले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा राखे ।
बुद्धका उपदेश, शान्तिका उपदेश, मानवताका उपदेश , करुणाका उपदेशलाई आत्मसात् गर्न हामी सबैले आवश्यक ठान्नुपर्नेमा समेत उनको जोड थियो।
ओलीले सम्भावित लडाइँबाट पन्छिएकोमा छिमेकी देश इन्डिया र पाकिस्तानलाई धन्यवाद दिएका छन् । दुई देशबीच हात हालाहालको स्थिति आए पनि युद्ध सुरु नभएको प्रति उनले सन्तोष व्यक्त गरे ।
एमाले अध्यक्ष ओलीले इन्डिया र पाकिस्तानको प्रसंग जोड्दै भने, ‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो । तर त्यो हात हालाहाल बढ्न पाएनन् । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर । लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गर्यौँ। उहाँहरुसित पनि कुरा गर्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’
ओली चार पटक नेकपा एमालेबाट प्रधानमन्त्री भएका व्यक्ति हुन् । अहिले पनि एमालेको अध्यक्ष ओली नै छन् ।
केही दिनअघि ओलीले नेपालमा हिमाल छन्, पहाड छन्, प्रशस्त अक्सिजन जनताले फेर्न पाएकोले चौपट विकास भएको बताएका थिए ।
ओलीले सोही दिनको अर्को कार्यक्रममा बाघले नपढ्ने भएकोले बाघको संख्या बढाउन नहुने बताएका थिए ।
चौथो कार्यकाल प्रधानमन्त्री भएपछि एमाले अध्यक्ष ओली विभिन्न कार्यक्रममा निकै व्यस्त रहेका छन् ।