काठमाडौँ । इन्डिया–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् ।
अब दुबै देशले वार्तास्थल र समय तोक्नेछन् । यो विषयमा दुबै देश समझदारीमा पुगेका छन् ।
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र इन्डियाका विदेशसचिव विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् ।
शनिबार पाकिस्तानले आक्रमक ढंगबाट इन्डियाका विभिन्न स्थानमा प्रहार गर्न थालेपछि अन्नतः इन्डिया सहमतिमा पुगेको हो ।
इन्डियाका विदेश सचिव मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो इन्डियाका समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् ।
सुरुमा इन्डियाले युद्धको घोषणा गरेर पाकिस्तानलाई जिस्क्याएपछि पाकिस्तानले आफ्नो शक्ति देखाउन थालेकोले इन्डिया सहमतिमा पुगेको हो ।
एउटा विज्ञप्तिमा इन्डियाका विदेशसचिव मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज शनिबार साँझ इन्डियन समय अनुसार ५ बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’ अब हामीलाई लड्नु छैन ।
दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ । साथै, दुवै अधिकारीबीच मे १२ मा दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ ।
वार्ताको स्थानपछि तय हुुने दुबै देशका अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तानका विदेश मन्त्री इसहाक डारले जियो टिभीसँगको कुराकानीमा इन्डियासँग भएको सहमति आंशिक नभई पूर्ण युद्धविराम सम्झौता भएको स्पष्ट पारेका छन्।
डारका अनुसार, यो सम्झौना पछि इन्डिया र पाकिस्तानबीचको सैन्य संवाद र हटलाइन प्रणाली पनि सक्रिय गरिएको छ।
पाकिस्तानी जनता शान्तिको पक्षमा, सबैतिर खुशीयाली
कराँचीबाट अलजजिराका रिपोर्टर फारस घानीले बताएका अनुसार, युद्धविरामको घोषणा पाकिस्तानको दक्षिणी शहरमा स्वागत गरिएको छ ।
महिला, बालबालिका, युवा, बृद्धबृद्धाहरु सडकमा निस्किएर खुशीयाली प्रकट गरिरहेका छन् ।
एक स्थानीय चिया पसलमा टीभीतिर टोलाउँदै बसेका अब्दुल शाहिदले भने, ‘अल्लाहलाई धन्यवाद छ । होस अझै बाँकी रहेछ।’
उनले अगाडि थपे, ‘दुवै पक्षले आफ्नो शक्ति देखाउन खोजे, राष्ट्रिय सुरक्षाको सन्देश दिए, र कश्मीरबारे कडा संकेत पठाए ।’ उनको भनाइमा, पाकिस्तान यो टकरावबाट ‘अझ बलियो रुपमा बाहिरिएको’ देखियो, तर युद्ध दुवैका लागि निरर्थक हुने थियो।
अब सबैको ध्यान यो युद्धविरामपछि के हुन्छ भन्नेमा केन्द्रित हुनेछ। वरिष्ठ पत्रकार तलत हुसैनले भने, ‘नियन्त्रण रेखामा अब शान्ति फर्किने अपेक्षा छ। तर अब सेना हटाउने, तनाव घटाउने र गम्भीर कूटनीतिक संवाद सुरु गर्ने बेला हो ।’
उनले इण्डस वाटर ट्रीटी, पहलगाम हमला, र पाकिस्तानको संलग्नताबारे इन्डियाको आरोपहरु जस्ता विषयलाई शतप्रतिशत गलत सावित भएको बताएका छन् ।
आतंकवाद कुनै देशको नहुने र सबैको शत्रु हुने उनले उल्लेख गरे ।
युद्धविरामपछि इन्डिया–प्रशासित कश्मीरका बासिन्दाले राहतको भावना व्यक्त गरेका छन्, र धेरैले कश्मीर विवादको स्थायी समाधानको लागि प्रार्थना गरेका छन्।
‘म के हुँदैछ भन्नेमा अत्यन्त चिन्तित थिएँ,’ अर्को हप्ता विवाह तय भएकी श्रीनगरकी २५ वर्षीया रुमैसा जानले अल जजीरासँग कुरा गर्दै भनिन्, ‘यो धेरै ज्यान गुमाएको पछि लिएको सबैभन्दा बुद्धिमान निर्णय हो। हामी शान्ति चाहन्छौं र यी सबै शत्रुताहरूको अन्त्य चाहन्छौं।’
एक ट्राभल एजेन्सी चलाउने फिर्दौस अहमद शेइखले कश्मीरलाई “युद्धक्षेत्र”मा परिणत गरिएकोमा निराशा व्यक्त गरे ।
‘मलाई मात्र एक डर छ, भविष्यमा घटनाहरू फेरि बढ्न सक्छन्। यी देशहरूले एकसाथ बसेर कश्मीरको लागि राजनीतिक समाधान खोज्नुपर्छ। म प्रार्थना गर्छु कि हाम्रा बच्चाहरूले यस्ता समय फेरि नदेख्नुपहोस्,’ उनले भने ।
यसैबीच, इन्डिया–प्रशासित कश्मीर सरकारले गोलाबारीका कारण ज्यान गुमाउने व्यक्तिहरूका परिवारलाई प्रत्येकलाई एक लाख रुपैयाँ ११ हजार ७ सय अमेरिकी डलर बराबर रकम उपलब्ध गराउने घोषणा गरेको छ । यो सहयोगलाई ‘समर्थन र ऐक्यबद्धताको प्रतीक’ का रूपमा प्रस्तुत गरिएको छ ।
त्यहाँका मुख्यमन्त्री उमर अब्दुल्लाहले एक्समा लेखेका छन्, ‘गोलाबारीका कारण निर्दोष मानिसहरूको ज्यान गएकोमा म गहिरो पीडित छु। हाम्रो सरकारले जनताको पीडा घटाउन सकिने सबै प्रयास गरिरहेको छ ।’
आजै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै शुक्रबार राति अमेरिकाले गरेको छलफलपछि दुवै देश तत्काल युद्धविरामका लागि तयार भएको बताएका थिए ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इन्डिया र पाकिस्तानले तत्काल युद्धविराम गर्ने र एक तटस्थ स्थानमा विभिन्न मुद्दाहरूमा वार्ता सुरु गर्ने सहमति गरेको बताएका छन् ।
रुबियोले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, ‘हामी इन्डियन प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफलाई शान्तिको मार्ग रोजेकोमा उनीहरूको बुद्धिमत्ता, विवेकशीलता र नेतृत्वको सराहना गर्छौं।’
उनले र जेडी भ्यान्सले विगत ४८ घण्टा इन्डियन र पाकिस्तानी उच्च अधिकारीहरूसँग छलफल गरेका थिए। यसैगरी पाकिस्तानका उपप्रधानमन्त्री इसहाक डारले पनि पाकिस्तान र इन्डियन तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएको बताएका छन्।
उपप्रधानमन्त्री डारले भने, ‘पाकिस्तान सधैं क्षेत्रीय शान्ति र सुरक्षाका पक्षमा उभिँदै आएको छ ।’
इन्डिया र पाकिस्तान शान्तिको मार्गमा उभिएपछि दक्षिण एसियाली मुलुकहरुमा खुशीको संचार फैलिएको छ ।
एजेन्सी