काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र फर्काउने आन्दोलन अन्त्य नभई राजतन्त्र पक्षधर समूह नफुट्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
‘बिहीबार राजधानीमा राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिले जेठ १५ गतेबाट जनआन्दोलन घोषणा गरेको कार्यक्रममा आँफुभन्दा वरिष्ठ दुई नेता नवराज सुवेदी र कमल थापा साथमै राखेर लिङ्देनले भने,‘फुट्ने फुटाउने कल्पनै नगरौँ, एकीकृत भावनाले मात्र लक्ष्यमा पुग्न सकिन्छ, एक्लै कसैको केही लाग्दैन ।’

एकीकृत घोषणा लगत्तै सम्बोधन गर्ने क्रममा लिङ्देनले भनेका छन्, ‘हामीले हाम्रो आन्दोलन भनौंला, यो सिंगो देशवासीको आन्दोलन हो । यो आन्दोलन निष्कर्षमा नपुगि हामी छुट्ने छैनौं ।’
उनले आफूहरूले घोषणा गरेको आन्दोलन कुनै पार्टी र समूहको नभइ सिंगो देशको भएको जिकिर गरे ।
‘यो आन्दोलन कुनै पार्टी र समूहको लागि होइन । कुनै व्यक्तिको राजनीतिक अभिष्ट पूरा गर्नका लागि होइन । यो देशको भविष्य बनाउनका लागि हो,’ लिङ्देनले भने ।
उनले गणतन्त्रवादीहरूलाई पनि आफूहरूको आन्दोलनमा सहभागी हुन अपिल गरे ।
‘यो ध्रुवीकरणलाई बलियो बनाएर लैजाने जिम्मेवारी हाम्रो काँधमा आएको छ । आजको दिनसम्म औपचारिक रुपमा राजसंस्था र हिन्दुराष्ट्रको पक्ष मत राख्दै हिँड्ने दल र अन्य सबैलाई पनि यो ध्रुवीकरणमा सामेल हुन आग्रह गर्न चाहन्छु,’ उनले भनेका छन् ।
लिङ्देनले थप भने, ‘यो ध्रुवीकरणमा सामेल हुन अहिलेको गठित गणतन्त्रको पक्षमा रहेका, ०६२/०६३ को परिवर्तनलाई परिवर्तन मान्नेहरूलाई पनि आउन आग्रह गर्न चाहन्छु ।’
आन्दोलनका संयोजक तथा हाल राजतन्त्रका पक्षधरमा सबैभन्दा वरिष्ठ नेता सुवेदीले लिङ्देन र थापालाई सँगै आन्दोलनमा सहभागी गराएका हुन् ।

विशेषगरी यसअघि जनआन्दोलन समिति घोषणा हुँदा सुवेदीले राप्रपाका अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष थापालाई उपस्थित गराउन सकेका थिएनन् ।
गत चैत ४ मा समिति घोषणा गर्न आयोजित कार्यक्रममा थापा र लिङ्देन दुवै अनुपस्थितमात्रै भएका थिएनन्, लिङ्देनले समिति गठनबारे आफूलाई थाहा नभएको प्रतिक्रिया समेत दिएका थिए । उक्त समितिको निर्देशक समितिमा लिङ्देनलाई समेत राखिएपछि उनले असन्तुष्टि दिँदै सार्वजनिक सञ्चारमाध्यमलाई अन्तरवार्ता र प्रतिक्रिया दिएका थिए ।
यस्तै कमल थापाले त्यतिबेला समितिलाई स्वीकारे पनि उक्त समितिमा पार्टीका उपाध्यक्ष तारानाथ लुइँटेललाई पठाउने बताएका थिए । तर, समय सँगै दुवै नेता बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सहभागी मात्रै भएनन् लिङ्देन र थापालाई दायाँबायाँ राखेर सुवेदीले जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा नै गरे ।
यो बिचमा पूर्वराजासमेतको दबाबमा दुई नेता नवराज सुवेदी नेतृत्वको समितिलाई सघाउन तयार भएको बताइएको छ । यसका लागि पूर्वराजा निकटस्थले पटक पटक असन्तुष्टहरूसँग छलफल गरेर सहमतिमा ल्याउन पहल गरेको बताइएको छ । सोहीअनुसार आज सबै राजसंस्था एक ठाउँमा भेला भएर अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको बताइएको छ ।
अहिलेको व्यवस्थाले देशलाई निकास नदिने निष्कर्षसहित राजसंस्था समूहले १४ बुँदे प्रतिबद्धताका साथ सबै विचारधारा र शक्तिहरू हटाउने गरी संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्ने उद्घोष गरेका छन् । यस्तै हिन्दुराष्ट्रको पुनर्स्थापना, दुई तहको सरकार हुनुपर्ने राजसंस्था समूहको भनाइ छ ।
आफूहरूको लक्ष्य प्राप्त गर्न सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिमार्फत कार्यक्रमहरू हुने प्रतिबद्धता पत्रमा उल्लेख छ । यद्यपि आन्दोलनका कार्यक्रम शान्तिपूर्ण हुने, भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरूप हुने स्पष्ट गरिएको छ ।
यस्तै भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम गर्दै देशमा सुशासन र कानुनी राज्यको प्रत्याभूति दिलाउने क्रममा २०७४ साल यता सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन गरी उच्चस्तरीय अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
आन्दोलनलाई सफल तुल्याउन देशको प्रत्येक जिल्ला, पालिका तथा वडाहरूमा संयुक्त जनआन्दोलन समितिहरू गठन गरिने तथा देशको विभिन्न भागहरूमा स्वतःस्फूर्त रूपले जुलुस, धर्ना लगायतका जनप्रदर्शन हुने समितिको भनाइ छ ।
संयोजक सुुवेदीले अबको आन्दोलन निर्णायक हुने घोषणा गरेका छन् ।

उता, राजा फर्काउने अभियानमा कम्मर कसेर लागेका जगमान गुरुङले त जेठ १५ गते नेपालको राजगद्दीमा राजालाई राख्ने दाबीका साथ प्रचारप्रसार गरिरहेका छन् ।
आन्दोलन घोषणा कार्यक्रममा राप्रपाका बुद्धिमान तामाङ, विक्रम पाण्डे लगायत सबै नेताहरु, राप्रपा नेपालका थापा सहित पुरै नेताहरु र राजसंस्थाका भएभरका अन्य उच्च व्यक्तित्वहरु सहभागी रहेका थिए ।