काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानबहादुर शाहीको अभिव्यक्तिलाई लिएर सार्वजनिक रुपमा विरोध गरेको छ ।
ज्ञानबहादुरले धार्मिक सद्भाव भड्किने खालको असभ्य बोलेका थिए ।
राप्रपाका सहायक महामन्त्री ताहिर अलीले विज्ञप्ति जारी गर्दै ज्ञानबहादुरले पटक पटक नेपाली मुसलमानलाई होच्याउने काम गरेको उल्लेख गरेका छन् ।
ज्ञानबहादुरले इन्डियाको पहलगाम घटनालाई लिएर मुस्लिम समुदायविरुद्ध दिएको अभिव्यक्तिको राप्रपाको पदाधिकारी तहबाटै विरोध भएको यो पहिलो हो । पार्टीका सहायक महामन्त्री अलीले ज्ञानबहादुरको अभिव्यक्तिले मुस्लिम समुदायलाई चोट पुगेको उल्लेख गरेका छन् ।
अलीले ज्ञानबहादुरलाई पहलगाम घटनालाई जोडेर दिएको अभिव्यक्ति तत्काल सच्चाउन भनेका छन् । नभए राप्रपामा रहेका मुस्लिम समुदाय सोच्न बाध्य हुने अलीले चेतावनी दिएका छन् ।
सहायक महामन्त्री अलीले धार्मिक सहिष्णुतामा खलल पुग्ने अभिव्यक्ति आगामी दिनमा नदिन पनि ज्ञानबहादुरलाई सचेत गराएका छन् । ज्ञानबहादुरले यसअघि पनि पटकपटक मुस्लिम समुदायविरोधी अभिव्यक्ति दिने गरेको अलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ज्ञानबहादुरले इन्डियाको कश्मीरमा २६ जनाको हत्या घटनाप्रति आपत्ति जनाउँदै मुस्लिम समुदायविरोधी अभिव्यक्ति दिएका थिए ।
ज्ञानबहादुर २०७९ सालअघि धर्म बचाउने भन्दै माइतीघरमा भड्काउजन्य प्रदर्शन गर्दै आएका थिए । पछि राप्रपामा प्रवेश गरेर राजनीति गर्दै आएका छन् ।
कश्मीर घटनालाई निस्पक्ष छानविन गर्न पाकिस्तानले अन्तराष्ट्रिय समुदायलाई अपिल गरेको छ । तर, इन्डियाको मोदी सरकारले मानिरहेको छैन ।
इन्डियन हिन्दुवादी संस्था आरएसएस र उसको सिष्टर दल बिजेपीले यो घटनालाई लिएर छानविन गर्न नमानिरहेको र एकोहोरो पाकिस्तानतिर आरोप लगाइरहँदा विभिन्न अन्तराष्ट्रिय मानवअधिकारवादी संस्थाहरुको इन्डियाको संस्थापनतिर शंका व्यक्त गरिरहेका छन् ।