काठमाडौँ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै भएको प्रदर्शनका क्रममा इन्डियाका मुख्यमन्त्रीको तस्बिर प्रयोगलाई लिएर ग्रेटर नेपालले विरोध जनाएको छ ।
ग्रेटर नेपालको आधिकारिक संस्था ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर उक्त कार्यको भर्त्सना गरेको छ ।
मोर्चाका संस्थापक अध्यक्ष फणीन्द्र नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘इन्डियाका उत्तरप्रदेश राज्यका मुख्य मन्त्री योगी आदित्यनाथको तस्बिर राखिएको पोस्टर बोक्नु सरासर विदेशी हस्तक्षेपलाई आमन्त्रण गर्नु हो, त्यसैले यो भर्त्सना गर्नुपर्ने निन्दनीय विषय हो ।’
विज्ञप्तिमा राजावादीहरूले ग्रेटर नेपालको मर्ममाथि आघात पुर्याउँदै योगी आदित्यनाथको तस्बिर बोकेको घटनालाई ग्रेटर नेपालसँग जोड्नु आफ्नो स्वार्थ सिद्ध गर्ने चालबाजीमात्र भएको उल्लेख छ ।

अध्यक्ष नेपालले विज्ञप्तिमा भनेका छन्,‘ग्रेटर नेपाल र राष्ट्रवादी मोर्चा नेपाल नेपालीको स्वाभिमान गिजोल्ने राजावादीहरूको यो अप्रत्याशित र अनपेक्षित क्रियाकलापको जोडदार विरोध गर्दछ ।’
अध्यक्ष नेपालले उक्त र्याली व्यवस्थापनमा आदित्यनाथबाट ठुलो धनराशि खर्च भएको आशंका व्यक्त गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्कने क्रममा विमानस्थलमा राजतन्त्र पक्षधरले स्वागतमा प्रदर्शन गरेका थिए ।
राप्रपा, राप्रपा नेपाल लगायत विभिन्न समुहको सहभागीता रहेको उक्त प्रदर्शनमा इन्डियाका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोगलाई लिएर व्यापक आलोचना भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त तस्बिर कुन नियत र कस्तो उद्देस्यले प्रयोग भएको हो भन्ने सवाल उठाएका छन् ।
माओवादी केन्द्रको बैठकले राजतन्त्र पक्षधरको जुलुशमा आदित्यनाथको तस्बिर प्रयोगलाई लिएर विरोध जनाएको छ ।
पूर्वराजा ज्ञानेन्द्र पोखराबाट यही फागुन २५ गते (आइतबार) फर्कने क्रममा भएको प्रदर्शनले नेपालको राजनीतिमा बहस सृजना गरिदिएको छ ।
ग्रेटर नेपालको विज्ञप्ति–
मिति : २०८१–११–२७
राजा ज्ञानेन्द्रको स्वागतमा निकालिएको र्यालीमा छिमेकी देशका नेताको तस्बिर अङ्कित पोस्टर बोकेको विषयमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको प्रेसविज्ञप्ति
यही फागुन २५ गते राजा ज्ञानेन्द्रको स्वागतमा काठमाडौँमा निकालिएको र्यालीमा इन्डियाको उत्तरप्रदेश राज्यका मुख्य मन्त्री योगी आदित्यनाथको तस्बिर राखिएको पोस्टर बोक्नु सरासर विदेशी हस्तक्षेपलाई आमन्त्रण गर्नु हो , त्यसैले यो भत्र्सना गर्नुपर्ने निन्दनीय विषय हो । राजावादीहरूले ग्रेटर नेपालको मर्ममाथि आघात पुर्याउँदै योगी आदित्यनाथको तस्बिर बोकेको घटनालाई ग्रेटर नेपालसँग जोड्नु आफ्नो स्वार्थ सिद्ध गर्ने चालबाजीमात्र हो । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपाल र नेपालीको स्वाभिमान गिजोल्ने राजावादीहरूको यो अप्रत्याशित र अनपेक्षित क्रियाकलापको जोडदार विरोध गर्दछ ।
सार्वभौम र स्वतन्त्र देशमा विस्तारवादी छिमेकीका सत्तारूढ नेताको तस्बिर राख्नु नेपालका कम्युनिस्ट पार्टीहरूले अन्तर्राष्ट्रिय व्यक्तित्व हासिल गरेका माक्र्स , लेनिन र माओका तस्बिर राखेजस्तो होइन । गोरखपुर ग्रेटर नेपालको क्षेत्र भए पनि नेपाल र इन्डियाले सुगौली सन्धिको हैसियत स्पष्ट नगरेसम्म योगी आदित्यनाथ इन्डियाली नागरिक हुन् । आफूलाई मात्र अद्वितीय राष्ट्रवादी ठान्ने राजा ज्ञानेन्द्रको स्वागतमा योगी आदित्यनाथको तस्बिर बोकेबाट राजावादीहरूले योगी आदित्यनाथबाट र्याली व्यवस्थापनमा ठूलो धनराशि र पर्याप्त जनशक्तिको सहयोग लिएको हो कि भन्ने आशंका पैदा भएको छ र यसले राजा ज्ञानेन्द्रले निर्माण गर्न खोजेको महान् राष्ट्रवादीको छविमाथि चुक घोप्ट्याएको छ ।
विदेशी प्रभाव बोकेर अरू हिँड्दा त्यो राष्ट्रघाती हुने तर आफू विदेशीको पाउमा पर्दा त्योचाहिँ अन्तर्राष्ट्रिय ऐक्यबद्धता मानिने दोहोरो मापदण्ड सच्चा राष्ट्रवादीहरूलाई मान्य हुने कुरा होइन । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यस्ता अवाञ्छित तत्त्वलाई चिनेर तिनीहरूसँग बेलैमा सचेत रहन विशेष अनुरोध गर्दछ ।
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौँ, नेपाल