काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउने क्रममा आज विमानस्थलमा हुने स्वागत कार्यक्रमलाई मध्यनजर राखेर उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
केही दिनदेखि पश्चिम क्षेत्रका विभिन्न जिल्ला पुगेका शाह आज दिउँसो काठमाडौँ फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
पूर्वराजा शाहको स्वागतार्थ भीड हुने संभावनालाई ध्यानमा राखेर गृह मन्त्रालयले सुरक्षा सर्तकता बढाएको छ । विभिन्न स्थानमा प्रहरीहरु खटिएका छन् ।
विहानैदेखि विमानस्थल वरपरका सडक, चोक र बजार क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शनिबार बेलुकादेखि नै सुरक्षा सर्तकता बढाएको थियो ।
हामीले कतै मुठभेड र अराजक गतिविधि नहोस भनेर केही सुरक्षाशक्ति बढाएका हौँ, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने,‘भीड जति भएपनि सडक अवरुद्ध हुन सक्छ ।’ कतै भीडभाड नहोस भनेर सुरक्षा सर्तकता अपनाइएको उनले जानकारी दिए ।
गृह मन्त्रालयले १० हजारसम्म राजतन्त्र पक्षधर मानिसहरु भेला हुन सक्ने आँकलन गरेको छ । तर, प्रदर्शनमा सहभागी हुने विभिन्न आयोजकहरु भने संख्या धेरै हुने दाबी गर्छन् ।
पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा राप्रपा लगायतको प्रदर्शन हुनेछ । केही दिनेदेखि देशभर राजतन्त्र पक्षधरहरुले प्रदर्शन गर्दै आइरहेका छन् ।