लहान । इलाका प्रशासन कार्यालय लहानले अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरुवात गरेको छ।
पहिलो पटक यो सुविधा प्रदान गरेको लहान इलाका प्रशासनले यहाँका सेवाग्राहीले ठुलो राहत मिलेको महसुस गरेका छन् ।
गृह मन्त्रालयको योजनाअनुरूप वडा कार्यालयबाट अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस कामको सुरुवात गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख गोकर्णराज सुयालले जानकारी दिए ।
यो सुविधाले सेवाग्राहीलाई अतिरिक्त समय वचत हुनेछ,उनले भने,‘कार्यालयमा आएर धेरै समय दिन पर्देन ।’ गृह मन्त्रालयले प्रविधिलाई नागरिकको पहुँच र हितमा पुर्याउने योजना अनुसार काम गर्न उत्साहित छौं, उनले भने ।
पहिलो दिन लहान नगरपालिका– १५ का अनुसा चौधरी र लहान नगरपालिका– १ का हेमशंकर साहुलाई नयाँ नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको यो सुविधाको सुरुवात गरिएको छ ।
वडामा अनलाइन दर्ता गर्दा केही कागजात अपुग भए अनलाइनमै इलाका प्रशासनले सच्याउन लगाउँछ । अनलाइन भइसकेका कागजात हेरेर नागरिकता दिने गर्छ । बिस्तारै कागज लिएर आउनुपर्ने झन्झटबाट मुक्त गर्न कामको प्रयास जारी रहेको प्रमुख सुयालले जानकारी गराए ।
कार्यालयका अनुसार वडामा अनलाइन भरिसकेका सेवाग्राही कार्यालयबाट अब नागरिकता लिएर मात्र फर्किन्छन् । पहिलेजस्तो धेरैपटक दौडधुप नहुने कार्यालयको दाबी छ ।
इलाका प्रशासन कार्यालय लहनाको कार्यक्षेत्रमा लहान नगरपालिका, भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिकाका सबै वडा र धनगढीमाई नगरपालिकाको वडा नं. १२, १३ र १४ यस्तै लक्ष्मीपुरपतारी गाउँपालिकाका वडा नं. २, ६ र नवराजपुर गाउँपालिकाको वडा नं. १ रहेको कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी शशिकुमार चौधरीले ४० वटै वडा कार्यालयबाट नागरिकले सहज ढंगबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकता विवरणमा एकरूपता ल्याउने उद्देश्यले यो सेवा सुरु गरिएको जानकारी दिए ।
यो सेवाबाट सेवाग्रहीले राहतको महसुस गरेको हामीले प्रतिक्रिया पाएका छौँ, उनले भने ।