काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उनले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको बताए ।
“मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ”, राष्ट्रपति पौडेलले शुभकामनामा भनेका छन्, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो । विसं २००७ को क्रान्तिको जगमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका हौँ ।”
राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरे । उनले भनेका छन्, “लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट भई अहिले संविधानतः तीनै तहका सरकारहरू बनेका छन् । यी निश्चिय नै हाम्रा लागि धेरै ठूला र ऐतिहासिक उपलब्धि हुन् । यिनै उपलब्धिको जगमा हाम्रो भविष्यको सुखद् यात्रा प्रारम्भ भएको छ भन्ने मैले विश्वास लिएको छु ।”
राष्ट्रपति पौडेलले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनलाई पथप्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजप्रति पनि सम्मान एवं श्रद्धा प्रकट गरेका छन् ।
राष्ट्रपतिले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवं मान्यता कार्यान्वयन गर्न प्रेरणा मिल्ने अपेक्षा गरे। उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना गरेका छन् ।
विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरूद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदैछ ।
सार्वभौमसत्ता अक्षुण्ण राख्न आजको आवस्यकताः उपराष्ट्रपति
त्यसैगरि, उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको संविधानमा व्यवस्था भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानता, समावेशिता, धर्मनिरपेक्षता, कानुनी राज्य, सार्वभौमसत्तालाई अक्षुण्ण राख्नु आजको आवश्यकता भएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन गरिबी, भेदभाव, अशिक्षा र बेरोजगारीको अन्त्य गर्दै अघि बढ्नु हाम्रा लागि निर्विकल्प भएको बताए ।
“लोकतन्त्र, शासनको रूपमा मात्र सीमित हुनुहुँदैन । मुलुकमा सामाजिक आदर्श, चरित्र, परम्परा, संस्कृति, सद्भाव र मूल्यलाई अजम्बरी बनाउनतर्फ पनि लोकतन्त्रलाई केन्द्रित गर्नुपर्दछ”, उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा भनेका छन्, “लोकतन्त्रमा कुनै पनि विशेषाधिकारयुक्त वर्ग हुँदैन, जाति, धर्म, वर्ण, वंश, धन, लिङ्ग आदिका आधारमा कुनै पनि व्यक्तिसँग कुनै प्रकारको भेदभाव पनि गरिन्न । राजनीतिक लोकतन्त्रको सफलताका लागि उसको आर्थिक लोकतन्त्रसँग गठबन्धन आवश्यक छ ।”
अग्रजहरूको सङ्घर्ष, बलिदान र अटुट सङ्कल्पकै कारण प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र स्वतन्त्रताको उपहार प्राप्त गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यस अवसरमा सबैले मुलुकको द्रुत विकास, समृद्धि र सामाजिक समरसताका लागि सदैव समर्पित भावका साथ अघि बढ्ने प्रण एवं दृढ सङ्कल्प लिन सक्नुपर्ने बताए ।
दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो, सुदृढ र सबल बनाउने दायित्व, कर्तव्य र जिम्मेवारीलाई स्मरण र बोध समेत गराएको उल्लेख गर्दै उपराष्ट्रपतिले सम्पूर्ण नागरिकहरूको अधिकारहरूको रक्षा, न्यायपूर्ण समाजको स्थापना र सबैका लागि समान अवसर सुनिश्चित गर्ने दिशामा एकजुटताका साथ क्रियाशील हुन पनि उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
नेपालमा पौने शताब्दीको यो अबधिमा धेरै पटक व्यवस्था र सरकार परिवर्तन भए, तर जनताको अवस्था जहाँको तहीँ रहेको छ । पछिल्ला दिनहरुमा जनता यी सबै व्यवस्था र सरकारहरुसँग विरक्तिएका छन् ।