काठमाडौँ । इन्डिया पढ्न गएकी नेपाली युवतीको शंकास्पद मृत्युका बारेमा नेपाल सरकार बेखबर छ । अझै नेपाल सरकार केही बोलेको छैन ।
इन्डियाको उडिसा स्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली छात्रा होस्टेलमा (हत्याको आशंका) मृत भेटिएकी छिन् । उनी हुन्, बुटवलकी प्रकृति लम्साल ।
आइतबार दिउँसो ४ बजे घटना भएको र दुईदिनसम्म नेपाल सरकार बेखबर हुनु नै बिडम्बना भएको अवस्था छ ।
युनिभर्सिटीको होस्टलको क्युसीफो बिल्डिङमा लम्साल मृत भेटिएकी थिइन् । प्रकृति बि टेक सिएससी तेस्रो वर्षमा अध्ययनरत थिइन् । कलेजमा २ सय भन्दा बढी नेपाली विद्यार्थाीहरु अध्ययनरत छन् ।
उक्त कलेजमा अध्ययनरत एक विद्यार्थीका अनुसार प्रकृतिको मृत्यु रहस्यमय छ । उनको मृत्युपछि कलेज प्रशासनले देखाएको गैरजिम्मेवार जवाफ झनै शंकास्पद भएको उनको भनाई छ ।
ति विधार्थीका अनुसार प्रकृति मृत भेटिएको दिन कलेजमा कार्यक्रम आयोजना गरिएको थियो सबै बिद्यार्थीहरु त्यतै व्यस्त भए । ४ बजे नेपाली विद्यार्थी मृत भेटिएको खबर उनीहरुले सुने । ‘खबर सुनेपछि हामी उक्त होस्टलको बिल्डिङतर्फ लाग्यौँ । त्यहाँ पुग्दा प्रकृतिले आत्महत्या गरेको भनियो । तर, उनको अवस्थाबारे कसैलाई थाहा दिइएन,’ उनले भने, ‘सोही कलेजमा प्रकृतिका दाइहरु पनि अध्ययन गर्छन् । तर उनीहरुलाई पनि प्रकृतिको शव देखाइएन ।’
नेपाली विद्यार्थीहरु प्रशासनसँग जवाफ मागिरहेका थिए । सोही क्रममा ह्वाट्उसएप ग्रुपमा खबर फैलियो, ‘उनलाई एउटा केटाले निकै दुःख दिइरहेको थियो ।’
उनीहरुका अनुसार कसैलाई पनि शव र घटनास्थल नदेखाई विश्वविद्यालयकै अस्पतालमा लगेर मृत घोषणा गरिएको थियो । उक्त खबर र प्रशासनले केसलाई ढाकछोप गरिरहेको देखेपछि नेपाली विद्यार्थीहरुले नजिकै रहेको इन्फो सिटी प्रहरीमा उजुरी दर्ता गराए र कलेजको ग्राउण्डमा प्रदर्शन गर्न थाले ।
प्रकृतिलाई लामो समयदेखि एक इन्डियन युवकले पछ्याइरहेको थियो । प्रकृतिका निकट साथीहरुका अनुसार, उक्त इन्डियन युवकले निकै तनाव दिने गरेको र हत्याको धम्की दिंदै आएको थियो ।
नेपाली विद्यार्थीहरु प्रोटेस्टमा उत्रिएपछि कलेजका भाइस चान्सलरले उनीहरुलाई धम्की दिन थालेको ति विद्यार्थी बताउँछन् । ‘हामीलाई भाइस चान्सलरले रेस्टिकेट गरिदिने, फेल गराईदिने र कलेजबाट निकालेर घर फकाईदिने धम्की दिए । हामीले राति १ बजेसम्म प्रोटेस्ट गरेका थियौँ’, ति विद्यार्थीले भने ।
अहिले सबै नेपाली बिद्यार्थीहरुलाई कलेजको होस्टलबाट दुर्व्यवहार गर्दै निकालिएको छ। करिब २०० नेपाली बिद्यार्थीलाई जबरजस्ती होस्टलबाट निकालेर बिभिन्न रेल स्टेसन र तथा बसपार्कहरुमा लगेर छाडिएको छ।
भुवनेस्वर रेलवे स्टेसनमा छाडिएका एक विद्यार्थीले भने, ‘फाउन्डरको निर्देशनमा हामीलाई होस्टलबाट निकालियो । हामीलाई होस्टलमा अपशब्द बोल्दै गाली गरियो । कुटपिट गर्दै हाम्रो मोबाइल खोसेर त्यहाँ भएका फोटो भिडियोहरु डिलिट गरियो । त्यसपछि अहिले भुवनेश्वर रेलवेस्टेसनमा छाडिएको थियो । भोलिसम्मको लागि रेल छैन । कहाँ जाने सोच्न सकेका छैनौँ ।’
उनका अनुसार उक्त कलेजमा अध्ययनरत सबै नेपाली बिद्यार्थीमाथि यस्तै दुर्व्यवहार गरिएको छ । सबैलाई फरक फरक रेलवेस्टेसनमा छोडिएको छ । प्रकृतिको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारबारे इन्डियास्थित नेपाली दूताबासलाई समेत जानकारी गराएको तर दूताबासबाट कुनै सहयोग नभएको उनीहरुको आरोप छ । दिल्ली दुताबास नेपालीहरुको बचाउमा गैरजिम्मेवार बन्दै आएको छ ।
केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेपछि धेरैको विचल्ली भएको छ । विश्वविद्यालयले निकालेपछि नेपाल विद्यार्थी कहाँ जाने भन्ने अन्योलमा परेका छन् ।
घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए र उनीहरुले विश्वविद्यालयको प्रवेशद्वारबाहिर विरोध प्रदर्शन गरेका थिए । विश्वविद्यालय अधिकारीहरूको लापरबाहीको कारण प्रकृतिको ज्यान गएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए ।
स्रोतका अनुसार मृतकको शवलाई अहिले पोस्टमार्टमका लागि क्यापिटल अस्पताल लगिएको छ ।
यो विषयमा नेपाल सरकारको परराष्ट्र मन्त्रालय केही बोलेको छैन । परराष्ट्रमन्त्री आरजु देउवा विदेश दौडाहामा छिन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरुले अझै घटनाको भेउ पाएका छैनन् ।
नेपालको गृहमन्त्रालयले चासो दिएकै छैन । नेपाल सरकारका विभिन्न जिम्मेवार प्राप्त सरकारी अधिकारीहरु सोमबार ४ बजेसम्म केही बोलेका छैनन् ।
यो समाचार तयार पार्दासम्म नेपाल सरकारले कुनै सूचना जारी गरेको छैन ।
(समाचार स्रोतः विभिन्न संचारमाध्यम)