काठमाडौँ । नेपालमा बसेर लाखौं इन्डियनहरु अवैध काम गरिरहेको चर्चा चलेका बेला प्रहरीले धमाधम खोजतलास सुरु गरेको छ ।
आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित एक घरमा छापा मारेर प्रहरीले २३ जना इन्डियनलाई नियन्त्रणमा लिएको हो ।
इन्डियाबाट धमाधम नेपाल आउने र विभिन्न काममा संलग्न हुँदा नेपालीबीचमा त्रास फैलिएको छ । यसरी नेपाल प्रवेश गरेर वैध, अवैध काम गर्ने इन्डियनको संख्या यकिन नभएपनि लाखौंको संख्यामा रहेका छन् ।
अहिले अवैध काम गर्ने इन्डियनको खोजी कार्यलाई प्रहरीले तिव्रता दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले छापा मारेर इन्डियनलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूका साथबाट ८८ थान मोबाइल, १० ल्यापटप र ८१ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनायो ।
प्रहरीका अनुसार, इन्डियन नागरिकले घर भाडामा लिएर अवैध कारोबार गरिरहेका छन् । उनीहरूले ३६० नामक एक बेटिङ साइटमार्फत सट्टेबाजी, अनलाइन ठगी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
ठगीको रकम समेत इन्डियन नागरिककै बैंक खातामार्फत भुक्तान हुने गरेको देखिएको छ ।
प्रहरीका अनुसार, अनलाइनमार्फत क्रिप्टो कारोबारदेखि अवैध ठगीधन्दा चलाउन उपत्यकामा इन्डियनहरुको ठुलो जमात छ ।