काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
आज बिहीबार दयाराम ढकालको एकल इजलासले यो आदेश दिएको हो । रविमाथि सहकारी प्रकरणमा यो चौथो धरौटी श्रृँखला हो ।
यसअघि रविसँग जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारीको बचत अपचलनमा ६५ लाख धरौटी माग गरेको थियो। त्यस्तै काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारीमा ६५ लाख र रूपन्देही जिल्ला अदालतले सुप्रिम सहकारीमा एक करोड धरौटी माग गरेको थियो।
आजको आदेश अनुसार, साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।
रवि विरुद्ध खासै गतिलो प्रमाण नभेटेपछि सरकारी वकीलको कार्यालयले संगठित अपराधमा मुद्दा दायर गर्न सकेन । कास्की, काठमाडौं र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिएको थियो ।
चितवनको वहसमा सरकारले अतिरिक्त न्यायाधीवक्ताहरु मगाएको थियो । दुई दिन लगाएर सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौलाका साथै सहायक जिल्ला न्यायाधिवक्ताहरू बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए ।
यस्तै, सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, सूरेन्द्र भण्डारी र राजकुमार श्रेष्ठ, अधिवक्ताहरु गोपीलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरेका थिए ।
प्रतिवादी रविका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त, डा. नारायणदत्त कंडेल, चुडामणि सापकोटा, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापाले बहस गरेका थिए ।
सरकारी वकिल कार्यालय चितवनले रविसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो ।
प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ ।
सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।
यसअघि गत ८ असोजमा पनि १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको थियो । सरकारी वकील कार्यालयले जीबी राईसहित कुमार रम्तेल, सागर केसी, बीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
आजको आदेशमा भनिएको छ.....
‘यी प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमान बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु. ५४,००,००० (चौवन्न लाख रुपैयाँ) धरौटी वा जमानत वा बैंक जमानत लिनु ।’