काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन (राप्रयुसं) को महाधिवेशन आगामी चैत १६, १७ र १८ गते काठमाडौंमा हुने भएको छ ।
महाधिवेशनको तयारीमा राप्रपाका युवा नेताहरु जुटिसकेका छन् । राप्रयुसंको वृहत बैठकले महाधिवेशनको तयारीमा लाग्न मातहतका सबै तहमा सर्कुलर गरिसकेको छ ।
यसअघि, राप्रपाको केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले पार्टीका महाधिवेशन गर्न बाँकी भातृ संगठनहरूको अधिवेशन चैत मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको थियो। सोही निर्णयअनुसार सबै भातृ संगठनहरू महाधिवेशनको तयारीमा सक्रिय रहेको संगठन विभागले जनाएको छ ।
राप्रपाको हाल नेतृत्व तहमा युवा संगठनबाट नेता भएका व्यक्ति रहेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका संस्थापक अध्यक्ष हुन् ।

लिङ्देन पार्टीमा युवा पंक्तिलाई बलियो बनाउन चाहन्छन् । युवाहरुको पहुँचबाट नै पार्टीको लोकप्रियता बढ्ने लिङ्देनले बारम्बार विषय उठान गर्दै आएका छन् ।
हाल राप्रयुसंको संयोजकमा सुजित केसी रहेका छन् । संगठनको विधानअनुसार महाधिवेशन गर्न सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढिरहेको उनले जानकारी दिए ।
केसीले भने,‘हालसम्म ३९ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ, केही जिल्लामा मिति तय भइसकेको छ, बाँकी जिल्लाहरूको अधिवेशन पनि फागुनको तेस्रो हप्तासम्म सम्पन्न गर्ने लक्ष्य छ ।’
उनका अनुसार हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना र वैकल्पिक राजनीति को पक्षधर युवाहरूलाई संगठित गर्दै राप्रपालाई युवामय पार्टी बनाउने लक्ष्य लिइएको छ । ‘निर्धारित समयमा महाधिवेशन सम्पन्न गरी राप्रयुसंलाई देशभक्त राष्ट्रवादी युवाहरूको प्रमुख संगठन बनाउने हाम्रो उद्देश्य हो,केसीको भनाई छ ।
केसी बलियो दावेदार

राप्रयुसंले देशभर जिल्ला अधिवेशन गरिरहेको छ । सुजित केसी अधिवेशन गर्ने दौडाहामा छन् । अहिलेसम्म ३९ वटा जिल्लामा अधिवेशन सम्पन्न भएका छन् ।
बाँकी सबै जिल्लामा चैत १० गते अगावै अधिवेशन सम्पन्न गर्नेगरि राप्रयुसं जुटिसकेको छ । संयोजक केसी प्रायजसो सबै जिल्लामा अधिवेशन गर्न पुगिसकेका छन् ।
बाँकी अन्य जिल्लामा तयारी चलिरहेको छ, भ्याएसम्ममा म सबै जिल्ला पुग्नेछु, उनले भने,‘सबै जिल्लाबाट साथीहरुको निम्तो छ ।’ सबै जिल्लामा प्रजातान्त्रिक विधि अनुसार नेतृत्व चयन भएको उनले जानकारी गराए ।
आसन्न केन्द्रीय महाधिवेशनमा केसी अध्यक्षका प्रमुख दावेदार रहेका छन् । कानुनी क्षेत्रमा लामो अनुभव र राजनीति संगठन निर्माणमा कुशल अनुभव बटुलेका सुजित केसी पार्टीमा पनि निकै लोकप्रिय युवा नेता हुन् ।
अधिवक्ता समेत रहेका केसीले हाल राप्रपाको युवा तहमा अनुशासन, क्षमतावान र योग्य नेतृत्वको परिचय दिइसकेका छन् ।
नेपालको सनातन धर्मप्रति विशेष आस्था राख्दै आएका केसी यही चैतमा सम्पन्न हुने राप्रयुसंको अध्यक्षमा चयन हुने बलियो आधार रहेको राप्रपा भित्र चर्चा सुरु भइसकेको छ । केसी अहिले पनि विभिन्न जिल्लामा अधिवेशन सम्पन्न गर्न निरन्तर खटिरहेका छन् ।