काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार राती नै चितवन पुगेका छन् । आज उनी जिल्ला अदालतमा उपस्थित हुनेछन् ।
रवि विरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम अपचलनमा ठगी मुद्दा परेको छ । तर, उनी विरुद्ध खासै प्रमाणहरु फेला परेका छैनन् ।
पर्याप्त प्रमाण फेला नपरेपछि संगठित अपराधमा मुद्दा दायर नगरी ठगीमा जर्वजस्ती मुद्दा हालिएको संकेतहरु बाहिर आएका छन् ।
प्रमाणविना नै संगठित अपराधमा मुद्दा दायर गर्न सरकारी उच्च तहबाट दवाव आएपछि रातारात चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुँइटेल सरुवा भएका छन् ।
रवि विरुद्ध तीनदिन अघि नै मुद्दा दर्ता गर्ने तयारी थियो, तर सहकारी ठगी, संगठित अपराधका कुनै प्रमाण फेला नपरेपछि मंगलबार केही आधार देखाएर मुद्दा दर्ता गरिएको थियो ।
अहिले एक्कासी न्यायाधीवक्ता लुँइटेलको सरुवाप्रति जनमानसमा तीव्र प्रतिक्रिया सुरु भएको छ ।
हाल जाहेरी परेको रकम ३८ करोड नौ लाख ७९ हजार एक सय ७७ रुपैयाँ विभिन्न व्यक्तिबाट क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ ।
रविको सवालमा भने गोर्खा मिडियामा एक करोड ८० लाख रकम बराबरको शेयर रहेको देखिने प्रहरीको अनुसन्धानमा भनिएको छ ।
गोर्खा मिडिया नेटवर्कको ग्लोबल आइएमई र हिमालयन बैंकको खातामा तीन करोड ५० लाख रकम ट्रान्सफर भएको दावी सरकार पक्षका वकीलहरुले गर्दै आएका छन् । ।