काठमाडाैँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकारको विषयमा आन्दोलनरत समूह र सरकारी वार्ता टोलीबीच छ बुँदे सहमति भएको छ ।
सहमतिसँगै गत माघ १५ गतेदेखि भएको यातायात बन्द फिर्ता भएको छ ।
गृह मन्त्रालयद्वारा गठित वार्ता समितिका संयोजक (गृह मन्त्रालयका सहसचिव) प्रेमप्रसाद भट्टराई र आन्दोलनरत समूहद्वारा गठित वार्ता समन्वय समिति संयोजक अम्बर तुम्याहाङ नेतृत्वको समितिले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
यि हुन सहमति
-पाथीभराको केबलकारको स्टेसन माथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्ने
-सरकारले घोषणा गरेबमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्योपचार गर्ने
-२०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने
-आन्दोलनका क्रममा थुनामा रहेको थुनुवाहरुको बिनासर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने
-मुक्कुम्लुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने
-मुक्कुम्लुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न अर्को वार्ता २०८१ माघ २७ गते बिहान ११ बजे आयोजना गर्ने