काठमाडौँ । निजी क्षेत्रका तीन संस्थाले मुलुकमा लगानीको वातावरण नबिगार्न सम्बद्ध पक्षसँग अनुरोध गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले आज संयुक्त रुपमा विज्ञप्ति जारी गरी कोशी प्रदेशको पाथीभरा (मक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउँदै बन्द र हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका हुन् ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माण परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लामा भइरहेको बन्द हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन समेत अस्तव्यस्त भएको, सर्वसाधारणले सास्ती भोग्नु परेको र यस्ता गतिविधिले मुलुकको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुने उनीहरुको भनाइ छ ।
“नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको सर्वविदितै छ । उद्योग, व्यापार, बैङ्किङ, ऊर्जा, कृषि, पर्यटन, सञ्चारलगायत अन्य विभिन्न पूर्वाधार विकास तथा सेवा क्षेत्रमा निजी क्षेत्रको गरेको लगानीले देशको समृद्धिमा उल्लेखनीय योगदान पुर्याएको छ । तर विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले सम्बन्धित सरोकारवालाहहरूलाई यस विषयमा गम्भीर बन्न, विकास निर्माणको कार्यलाई सहज र निर्वाध रुपमा सञ्चालन गर्ने वानतावरण सिर्जना गर्न आग्रह गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।