काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोग केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलालाई सोध्ने भनिएको स्पष्टीकरणबाट पछि हटेको छ ।
उनलाई स्पष्टीकरण सोध्ने विषयले केही दिनअघि निकै चर्चा पाएको थियो । रास्वपा स्रोतका अनुसार, पार्टी भित्र आन्तरिक मतभेद सृजना गर्न कसैले हल्ला फैलाएको भएपनि ज्वालालाई स्पष्टीकरण सोध्ने तयारीमा आयोग पुगिसकेको थिएन ।
अघिल्लो साता ज्वालाले सामाजिक सञ्जाल फेसबुकमा एमाले नेता महेश बस्नेतसँग जोडिएको विषयका बारेमा स्टाटस लेखेकी थिइन् ।
उक्त स्टाटसले पार्टी नेतृत्वमाथि आँच पुगेको आरोपमा रास्वपाका केही केन्द्रीय सदस्यले बैठकमा स्पष्टीकरण सोध्नुपर्ने माग उठाएका थिए ।
एक केन्द्रीय सदस्यका अनुसार, ज्वालाले दिन खोजेको सन्देशमा गलत अर्थ लगाएर हल्ला फैलाइएको र उनको मनसायमा सकारात्मक देखिएकोले स्पष्टीकरणको विषय स्थगन भएको छ ।
संसदको हिउँदे अधिवेशन (माघ १८) हुनुपूर्व रास्वपाको सचिवालय र संसदीय दलका बैठकहरु लगातार बसेका थिए । माघ १४ मा सचिवालय बैठक र माघ १६ मा संसदीय दलको बैठक बसेपनि ज्वालालाई कारवाही गर्ने विषयले प्रवेश पाएको थिएन ।
तर, स्पष्टीकरण सोध्ने बाहिर आएका चर्चाका कारण ज्वालालाई गंभिर बनाएको थियो । महेश बस्नेतले गत शनिबार रास्वपा सभापति रवि लामिछानेमाथि अतिरञ्जित अभिव्यक्ति दिएपछि केन्द्रीय सदस्य ज्वालाले त्यसको प्रतिवाद गरेकी थिइन् ।
एमाले नेता बस्नेत बेलाबेलामा दिने छुद्र अभिव्यक्तिका कारण विवादमा आइरहन्छन् ।
रास्वपा नेतृत्वले भने प्रत्येक आयोग र विभागलाई स्वतन्त्र रुपमा काम गर्न स्वयत्त अधिकार प्रदान गरेको स्पष्ट पार्दै आएको छ ।
यो विषयमा हामीले रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसँग प्रश्न गरेका थियौं । अर्यालले ज्वालाजीको विषय पार्टीमा खासै प्रवेश नभएको र बाहिर ज्यादा हल्ला मात्र भएको जानकारी दिए ।
उनले भने,‘अनुशासन आयोगले सबै हेरिराको होला, पार्टीको न्यायीक विषय हो, उहाँको विषय खासै उठेको होइन ।’ यदि अनुशासन आयोगमा विषय प्रवेश भएको भए आयोग आफ्नै ढंगले काम गर्न स्वतन्त्र रहेको उनले बताए ।
ज्वालाको हुटहुटी
ज्वाला सङ्ग्रौलाले रास्वपा गठन हुनुभन्दा पहिलेदेखि नै सामाजिक र राजनीति क्षेत्रमा चासो राख्दै आएकी थिइन् । उनले सामाजिक तहमा बसेर धेरै पीडित व्यक्तिहरुको पक्षमा आवाज उठाइन् । राजनीतिमा सक्रिय हुन थालेपछि रास्वपालाई नेतृत्व तहबाटै बलियो बनाउनुपर्छ भन्ने दृढतामा उनि उभिंदै आएकी छिन् ।
२०७९ साल असार ७ गते स्थापना भएको रास्वपाले सोही वर्षको मंसिरमा सम्पन्न आमनिर्वाचनमा सुखद परिणाम ल्याएको थियो ।
छोटो अबधिमै राष्ट्रिय पार्टी र संसदमा चौथो दलको रुपमा उदाएको रास्वपालाई जर्वजस्त जनताकाबीचमा स्थापित गर्न नयाँ अनुहारहरु मैदानमा खट्दै आएका छन् । यिनै नयाँ अनुहार मध्ये पार्टी काममा निरन्तर खट्नेमा पर्छिन्, ज्वाला ।
रास्वपा सभापति रवि लामिछाने सहकारी मुद्दामा गत कात्तिक २ गते पक्राउ परेपछि केन्द्रीय सदस्य ज्वालाले फिल्डमै उत्रेर सरकार विरुद्ध अनवरत आवाज उठाउँदै आएकी थिइन् ।
नेतृत्वलाई बलियो बनाए मात्र पार्टी दीर्घकालीन रुपमा अघि बढ्न सक्छ भन्ने उनको मान्यता छ । ‘रवि दाईकै कारणले रास्वपाको लोकप्रियता फैलिएको हो,उहाँ कमजोर हुँदा हामी (रास्वपा) सबै कमजोर हुने हो भन्ने बुझेरै मैले सूरुदेखि नै साथ दिएकी हुँ, उनले भनिन् ।
नेतृत्वलाई कमजोर बनाउने वा खुइल्याउने काम कतैबाट नहोस भन्नेमा म दृढ छु, ज्वाला भन्छिन् ।