काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आँफु प्रधानमन्त्री पद पाएपनि सरकारमा सहभागी नहुने अडान लिएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठक समापनमा आइतबार लिङ्देनले पाँच वर्षसम्म राप्रपा सरकारमा नजाने घोषणा गरे । सरकारको वर्तमान कार्यकालमा आँफु कुनै पनि शर्तमा सरकारमा नजाने लिङ्देनले जानकारी गराएका हुन् ।
‘मैले पहिल्यै घोषणा गरिसकेको छु कि यो पाँच वर्ष म चाहिँ सरकारमा जान्न,’ उनले भने,‘साथीहरु जान सक्लान् तर म जान्न । पार्टीले निर्णय गर्यो भने जाने भन्ने ठाउँ पनि राख्दिन ।
म कुनै पनि हालतमा मन्त्री बन्दिनँ । प्रधानमन्त्री पाए त खाने होला भन्ने कुरा आउला । म यो पाँच वर्ष प्रधानमन्त्री नै पाए पनि खान्न । हुन त १४ सिट भएको दललाई प्रधानमन्त्रीको अवसर पनि नआउला । तर, कथंकदाचित त्यस्तो अवसर आयो भने पनि म हुन्न ।’
लिङदेनले अर्को चुनाव आफू गठवन्धनबिना लडेर जितेर देखाउने दाबी गरे । ‘झापा जिल्लाको मेरो निर्वाचन क्षेत्रमा म होस, अर्कोलाई उठाएर होस कुनै पार्टीसँग नमिलिकन चुनाव जितेर आउने छौं । यो रेकर्डमा रहोस् ।’
राप्रपाभित्र आफ्नो कुनै पनि पक्ष नरहेको स्पष्ट पारे ।
उनले भने, ‘पार्टीमा मेरो कुनै पक्ष छैन । अध्यक्षको कुनै पक्ष हुँदैन ।’ आफूले मनोनित गरेका व्यक्तिहरु ठीक नरहेको भन्ने असतुष्टि आएको सन्दर्भमा उनले पूर्वअध्यक्षज्यूहरुसँग पदाधिकारीहरुसँग छलफल गरेर सच्याउन सक्ने बताए ।
‘आवश्यक पर्यो भने मैले गरेको मनोनयनहरु फिर्ता लिएर देखाउँछु’, लिङ्देनले भने ।
चुनावको बेला पनि काठमाडौमा उपरखुट्टी लगाएर बस्नेहरुले पार्टी सकियो भनेर चिन्ता लिन नसुहाउने उनले बताए ।
अध्यक्ष लिङ्देनले राप्रपा भित्र कुनै प्रकारको भतभेद नरहेको स्पष्ट पारेका छन् । अब सबै एकीकृत सोच लिएर आन्दोलनमा जानुपर्ने बेला आएको उनले उल्लेख गरे ।
राप्रपाको तीन दिनसम्म चलेको केन्द्रीय बैठकले १५ वुँदे निर्णय गर्दै प्रभावकारी कार्यक्रमहरु सार्वजनिक गरेको छ । राप्रपाको १५ वुँदे निर्णय