दाङ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालको सत्ता गठबन्धनले राष्ट्रपतिलाई धम्की दिएर अहिलेको सरकार बनेको गंभिर आरोप लगाएका छन् ।
‘नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई महाभियोगको धम्की दिएपछि वर्तमान सरकार बनेको हो, आज शुक्रबार दाङको तुलसीपुरमा आयोजित उनकै पार्टीको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भने,राष्ट्रपति पौडेलले संवैधानिक व्यवस्था बमोजिम संविधानको धारा ७६ (३) मा जान चाहँदा पनि कांग्रेस–एमाले नेताहरूको दवाबमा काम गर्नुपरेको हो ।’
वर्तमान सरकार संविधान मिचेर बनेको दाबी प्रचण्डले गरे । उनले केपी शर्मा ओली नेतृत्वको यो सरकार असंवैधानिक, जनविरोधी र गैरकानुनी रहेको जिकिर पनि गरेका छन् ।
कांग्रेसका नेता रहेका पौडेल आफ्नो कारण र पहलले राष्ट्रपति बनेको दाबी गर्दै प्रचण्डले त्यसबेला आफूसँग संविधान नमिच्ने बाचा गरेको पनि स्मरण गरे ।
कांग्रेस–एमाले मिलेपछि धर्म संकटमा परेर पौडेलले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्न बाध्य भएको दाहालको जिकिर थियो ।
‘अहिलेको राष्ट्रपति (रामचन्द्र पौडेल) बनेकै मेरो कारणले, माओवादीकै कारणले हो । उहाँले मलाई ढुक्क हुनुस् म संविधान मिच्न दिन्न भन्नु भएको थियो’, दाहालले भने, ‘राष्ट्रपतिजीले संविधान मिच्न चाहनु भएन । तर कांग्रेस र एमाले मिलेर महाभियोग लगाउने धम्की दिएपछि धर्म संकटमा परेर उपाधारा २ अनुसार सरकार गठन गर्न बोलाउनु भयो ।’
वर्तमान सरकार राष्ट्रपतिको डरका कारण बन्न पुगेको दाहालले बताए । भ्रष्टाचार प्रकरणमा केही ठूला आरोपी पक्राउ परेपछि पालो आउनले डरले कांग्रेस–एमाले मिलेर आफूलाई हटाएको उनले बताए ।
‘यो सरकार मैले प्रतिनिधि सभाको हलबाट भने जस्तै डरका कारण बनेको हो । केही फरार अभियुक्त पक्राउ परेपछि हाम्रो पालो आयो भन्ने बुझेर उनीहरूले गठबन्धन गरे’, कांग्रेस–एमालेबारे उनले भने, ‘एकदमै अपारदर्शी, आफ्नै पार्टीका नेतालाई थाहा नदिएर, जसविरुद्ध मैले अभियान थालेँ, उनै विचौलियाको घरमा मध्यराति १२ बजे सम्झौता गरेर यो सरकारबने को हो ।’
दाहालले आफू प्रधानमन्त्री भएकै बेला ‘मेरोविरुद्ध कुनै उजुरी भए छानबिन गर्नुस्’ भनेर प्रहरीलाई निर्देशन दिएको दाबीसमेत सम्बोधनका क्रममा गरेका छन् ।
‘हामीलाई २०६४ सालमा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ, हामीले हाम्रो गल्ती कमजोरी सच्याउँछौं। तपाईहरूले पनि आफ्नै छोराछोरी त हुन नि भनेर एकचोटी ०६४ मा जस्तै माया गरिदिनुभयो, बहुमत दिनुभयो भने ०८४ मा हामी बहुमतमा आउनेछौं।’
उनले त्यो बहुमतले देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने पनि बताए।
सामाजिक विवेधको अन्त्य गर्न, न्याय स्थापित गर्न, आर्थिक समृद्धिमा देश अगाडि बढाउन पनि बहुमत आवश्यक परेको उनले बताए।
उनले भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानमा साथ दिन पनि आग्रह गरेका छन्। आफूले सरकारको नेतृत्व गर्दा जनताको पक्ष सुशासनको अभियान चलाएको उनको भनाइ छ।
‘सरकारबाट बाहिएपछि म जहाँ गएको छु, जनताको अपार माया पाएको छु। म यो माया र विश्वासले खुसी भएको छु। म ७० वर्षको भएँ, मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु। जसका कारण अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर आएको छ। देशभर विभिन्न पार्टीका नेता कार्यकता पनि प्रवेश गर्ने तयारी गरिरहनुभएको छ,’ उनको दाबी छ।
साथै उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकार अवैध रहेको दाबी गरेका छन्। अध्यक्ष प्रचण्डले अहिलेको सरकार असंवैधानिक र गैरकानुनी रहेको आरोप लगाए।
उनले सरकार गठनका बेला गत असार ३० गते संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबभन्दा ठूलो दलको नेतृत्वमा सरकार बनाउनुपर्ने भए पनि धारा ७६ को उपधारा २ अनुसार सरकार बनेको बताएका हुन्।