काठमाडौँ । गोर्खा मिडियाका पूर्व प्रवन्ध निर्देशक रवि लामिछानेमाथि लागेको मुद्दामा आज शुक्रबार पनि बहस हुनेछ ।
बुटवल स्थित सुप्रिम सहकारी ठगी प्रकरण अन्तर्गत रविको मुद्दामा बहस हुने भएको हो । यो मुद्दा यतिबेला रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा परेको छ ।
रवि पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति हुन् । तर, यो मुद्दामा उनलाई गोर्खा मिडिया प्रा.लिको पूर्व संचालकको नाताले उपस्थित गराइएको हो ।
बिहीबार थुनछेक मुद्दामा सरकारी वकीलको बहस सकिएको थियो । पीडित पक्षको दुई वकीलको बहस भने बाँकी रहेको छ ।
रवि अहिले साढे १० बजे अदालतमा उपस्थित हुनेछन् ।
सरकारी बहसमा जिल्ला सरकारी वकीलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए । उच्च सरकारी वकील कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहसमा सहभागी छन् ।
आज सुरुमा जाहेरवाला तर्फका वकील वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गर्नेछन् ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहितका अधिवक्ताको बहस सकिएपछि सरकारी वकील र जाहेरवाला तर्फका वकीलले जवाफी बहस गर्नेछन् ।
त्यसपछि भने न्यायाधीशले थुनछेक आदेशमार्फत रवि पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारिखमा रिहा हुने आदेश सुनाउनेछन् ।
यसअघि पोखरा र काठमाडौँमा रविलाई त्यहाँका दुबै जिल्ला अदालतले तारिखमा छोडिसकेको छ ।
बुटवलमा दुईदिनदेखि भइरहेको बहसपछि अदालतले रविलाई उनको श्रीमती निकिता पौडेल लामिछानेको जिम्मा लगाएर अदालतमा उपस्थित गराउने शर्त सहित पठाउने अनुमति दिंदै आएको छ ।