काठमाडौँ । इन्डियाका स्थल सेनाध्यक्षलाई नेपालले सम्मान गर्न लागेकोमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले गम्भीर ध्यानाकर्षण प्रकट गरेको छ ।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले आज बुधबार एक विज्ञप्ति जारी गर्दै इन्डियाका स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथीको दर्ज्यानी दिने परम्पराको अन्त्य गर्नुपर्ने वा चीनका सेनाध्यक्षलाई पनि समान रूपमा सोही सम्मान दिनुपर्ने माग उठाएका छन् ।
विज्ञप्तिमा नेपालले भनेका छन्,‘इन्डियाका सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभन गर्न आमन्त्रित गरिएको कुराप्रति हाम्रो चासोको मुख्य विषय भएको छ ।’
इन्डिया नेपालको सिमाना जोडिएको देश भएकाले त्यस देशसँगको सैनिक सम्बन्धले विशेष अर्थ राख्ने अवगत गराउँदै तर सिमाना जोडिएका दुईवटा देश चीन र इन्डियामध्ये इन्डियासँग मात्रै विशेष सैनिक सम्बन्ध राख्ता मित्रभेद गरेको ठहरिने मोर्चाको विज्ञप्तिमा उल्लेख छ ।
यो गंभिर विषयमा सरकारको धान जानुपर्ने मोर्चा अध्यक्ष नेपालले बताए ।
विज्ञप्तिमा भनिएको छ,‘इन्डियाको स्थल सेनाका प्रधान सेनापतिलाई मात्र नेपाली सेनाको महारथीको विभूषणले सुशोभित गर्नैपर्ने बाध्यता के हो भन्न जान्न सबैजसो नेपाली जनता उत्सुक छन् , तसर्थ सरकारले सैनिक सम्बन्धका प्रत्येक विषयमा इन्डिया र चीन दुवै देशसँग समान व्यवहार नगर्नुको कारण खुलाउनुपर्दछ ।’
यस सम्बन्धमा निर्णयमा पुग्नैपर्ने बुँदा के हो भने या त नेपाल र इन्डियाका प्रधान सेनापतिले एकअर्का देशका सेनाको महारथी पद ग्रहण गर्ने परम्पराको अन्त्य हुनुपर्छ कि त जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाका अध्यक्षलाई पनि नेपाली सेनाको महारथीको दर्ज्यानीले सुशोभित गर्नुपर्ने मोर्चाले माग गरेको छ ।
तबमात्र नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको पुष्टि हुने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको विज्ञप्तिमा भनिएको छ ।
इण्डियाली स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज पाँच दिने नेपाल भ्रमणमा आउँदैछन् ।
उनलाई नेपाली सेनाले महारथी पदबाट सम्मान गर्दैछ ।
एउटा छिमेकीसँग मात्र नभई दुबै छिमेकी देश (चीन र इन्डिया)सँग समान सम्बन्ध स्थापित गर्नका लागि सैनिक सम्मान पनि समान हुनुपर्ने माग उठाउने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा पहिलो हो ।
हेर्नुस, ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले जारी गरेको विज्ञप्ति–