अजरबैजान । जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ्नका लागि नेपालले बङ्गादेशलाई आग्रह गरेको छ ।
अरजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको सम्मेलन कोप- २९ मा भाग लिन अजरबैजानमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र बङ्गादेशका पर्यावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री स्येदा रिजवाना हसनबीच आज भएको द्धपक्षीय भेटमा जलवायु परिवर्तनको मुद्दालाई साझा एजेन्डा बनाउन जोड दिइएको हो ।
नेपालले बङ्गलादेशलाई जलविद्युत् निर्यात गर्न सुरु गरेको उल्लेख गर्दै मन्त्री शाहीले जलविद्युत् सफा ऊर्जा भएकाले, जलवायु परिवर्तन न्यूनिकणको सन्दर्भमा महत्वपूर्ण रहेको बताए।
नेपालमा ऊर्जासम्बन्धी जिम्मेवारी ऊर्जा, जल स्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत भए पनि, जलवायु परिवर्तनको सन्दर्भमा महत्वपूर्ण हुने भएकाले, बङ्गलादेशले स्वच्छ ऊर्जा आयातलाई प्राथमिकतामा राखेको विषय महत्वपूर्ण रहेको बताए ।
जलवायु परिवर्तन वार्तामा तीन देश (बङ्गलादेश, भुटान र नेपाल) बीचको सहकार्यको पहललाई अगाडि बढाउन तथा प्राविधिक टोलीलाई त्यसको तयारीका लागि अघि बढ्न र छिट्टै मन्त्रीस्तरीय बैठकको समय तय गर्न मन्त्री शाहीले आह्वान समेत गरेका छन् ।
बाकु सम्मेलनले यी महत्वपूर्ण विषयमा निर्णय गर्दै, विशेष गरी जलवायु वित्तका सन्दर्भमा निष्कर्षमा पुग्ने मन्त्री शाहीले विश्वास व्यक्त गरे ।
कोप- २९ को भेटघाट महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले नेपाल र बङ्गलादेशबीच द्वीपक्षीय सम्बन्ध तथा सहकार्य आगामी दिनमा झन प्रगाढ हुने विश्वास व्यक्त गरे ।
भेटमा बङ्गलादेशका मन्त्री हसनले नेपालसँगको ऊर्जा व्यापार सम्झौताका लागि सहकार्यको प्रशंसा गर्दै भविष्यमा यसलाई निरन्तरता दिँदै जाने बताए ।
दक्षिण एशियामा जलवायुजन्य हानि नोक्सानीसम्बन्धी वार्तालाई क्षेत्रीयस्तरमा अघि बढाउने विषयमा समेत छलफल भएको छ ।
बङ्गलादेश, भूटान र नेपालबीच मन्त्रीस्तरीय बैठक जति सक्दो चाँडो बङ्गलादेशमा आयोजना गर्ने सहमति भएको छ । रासस