काठमाडौँ । आज शिख धर्मावलम्बीले गुरुनानक जयन्ती मनाउँदै छन् ।
गुरुनानक देवको सम्झनामा आज गुरुद्वारामा श्रद्धा र भक्ति भावले कीर्तन तथा दीप प्रज्ज्वलित लगायत कार्यक्रम आयोजना गरिएका छन् ।
कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मका प्रथम गुरु गुरु नानकको जन्म भएको मानिन्छ । यही दिन प्रत्येक वर्ष शिख धर्मावलम्बीले विषेश रुपमा गुरुनानक जयन्ती मनाउँदै आएका छन् ।
शिख धर्मका प्रवर्द्धक गुरुनानक जयन्तीको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना दिदैँ मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न’ दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
उपराष्ट्रपति यादवले विद्यमान सबैखाले विकृति, विसङ्गति र विभेदको अन्त्य गरी समतामूलक, शान्त, सौम्य, सभ्य र सुसंस्कृत समाजको निर्माणमा दत्तचित्त भई लाग्न आजका दिनले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
गुरुनानकले आफ्नो यात्राका क्रममा थुप्रै भजन र गीत रचेर मानव मात्रको कल्याण गर्ने जीवन सूत्रहरू दिनुभएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले गुरुनानकको उपदेशले सत्य, आत्मज्ञान र मानवताप्रति सदैव समर्पित हुने शिक्षा प्रदान गर्ने बताउनुभएको छ ।