काठमाडौँ । पछिल्ला केही वर्षयता काठमाडौँमा पनि छठ पर्वलाई धुमधामसँग मनाउन थालिएको छ ।
यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु भइसकेको छ ।
उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि बाग्मती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ ।
एकीकृत बागमती सभ्यता विकास समिति अन्तर्गत बाग्मती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी वाग्मती नदीमा छाड्ने तयारी गरिरहेको जनाएको छ ।
वाग्मती नदीमा पानीको सतह बढाउन र व्रर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले ड्यामको पानी नदीमा छाड्ने तयारी गरेको हो ।
आयोजनाका उप- निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले आज साँझदेखि पानी नदीमा छाड्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
धाप ड्यामको पानी छाडेपछि पशुपति क्षेत्रसम्म आइपुग्नका लागि १४ घण्टा लाग्ने भएकोले अघिल्लो दिनबाटै पानी छाड्ने तयारी गरेको उनले बताए ।
समितिले छठ पर्वको दुई दिनसम्म वाग्मती नदीमा प्रतिसेकेण्ड चार सय लिटर पानी छाड्ने तयारी गरिरहेको जनाएको छ ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले आधिकारिक रुपमा पानी छाड्न आग्रह गरिएको खण्डमा दैनिक १० करोड लिटरसम्म मेलम्चीको पानी उपलब्ध गराउन सकिने जानकारी दिए।
मेलम्ची खानेपानी आयोजनाबाट हाल दैनिक २५ करोड लिटर बराबरको खानेपानी उपत्यकामा दैनिक आउने गरेको उनको भनाइ छ ।
लामिछानेले उपभोक्तामा २५ करोड लिटर पानी नै खपत नभएपछि बाँकी रहेको पानी वाग्मती नदमा पानीको सतह बढाउन छाडिने गरेको बताएका छन् ।