काठमाडौँ । थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको छ । उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो ।
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने थाई एयर एसिया चौथो हवाईसेवा कम्पनी भएको छ । यसअघि कुवेतको जजीरा एयर, नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्स र राष्ट्रिय ध्वजावाहक (नेपाल एयरलाइन्स)ले व्यावसायिक उडान सञ्चालन गरेका थिए ।
उक्त विमानस्थलमा यही कात्तिक २४ गते शनिबारदेखि कुवेतको जजीरा एयरले पुनः उडान सञ्चालन गर्दैछ । यसअघि १० महिना उडान गरेर स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।
यस्तै युनाइटेड अरब इमिरेटस् (युएई)को राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि दैनिक उडान गर्ने भएको छ । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई- भैरहवा र भैरहवा- काठमाडौँ- दुबई उडान गर्न लागेको हो ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षा लगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । सोही योजना अनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान सुरु गर्न लागेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्रमशः अन्तर्राष्ट्रिय उडान विस्तार हुदैँ गएको छ ।
विमानस्थललाई पूर्ण व्यावसायिक क्षमतामा सञ्चालन गर्न प्राधिकरण पनि लागिपरेको छ । सरकारको योजना अनुरुप गौतमबुद्ध विमानस्थलमा बढीभन्दा बढी व्यावसायिक उडान सञ्चालन गर्न प्रयास जारी छ ।
थाई एयर एसियाले आइतबारदेखि भैरहवा र काठमाडौँमा एकसाथ उडान सञ्चालन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
उनका अनुसार उक्त एयरलाइन्सले काठमाडौँ गन्तव्यमा आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ । यस्तै भैरहवामा सोमबार र बिहीबार उडान भर्नेछ ।
प्राधिकरणका अनुसार आगामी शनिबारदेखि उक्त वायुसेवाले हरेक साता सोमबार र बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्नेछ ।