काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलका क्रममा सांसदले राखेका जिज्ञासाको जवाफमा उनले कानुन कार्यान्वयन गर्ने निकाय र पदाधिकारीले इमान्दार काम गरेमात्रै पनि मुलुकमा सुशासन कायम हुने बताए।
“भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार मात्रै हो कि भन्ने जनमानसमा परिरहेको छ । त्यो होइन, भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न विभिन्न क्षेत्रगत ऐन जारी भएका छन् । त्यसको पालना भएमात्रै अख्तियारको आवश्यकता नै नपर्ने थ्यो”, उनले भने ।
अख्तियार विकासको बाधक भयो कि भनेर कहिलेकाहीँ प्रश्न उठ्ने गरेको सन्दर्भ सुनाउँदै उनले यस सम्बन्धमा स्पष्ट हुन आयोगले सरकारलाई २२ वटा लिखित सुझाव दिएको बताए।
“ती २२ बुँदामा कानुनको परिपालना गर्नुस्, प्रथाका रुपमा अघि नबढ्नोस् भनेको हो”, उनले स्पष्ट पार्दै भने, “आयोगले कानुनको परिपालना गरेर कार्यसम्पादन गर्नुस् मात्रै भनेको हो ।”
कानुनको उल्लङ्घन गर्ने विषय बानी परिसकेकाले अख्तियारको निर्देशनलाई नयाँ कानुनका रुपमा ल्याएको सन्दर्भ सुनाउँदै प्रमुख आयुक्त राईले दाताले दिएको सहयोगको कार्यान्वयनमा पनि आन्तरिक कानुन आकर्षित हुनुपर्ने बताए।