काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका छन् । उनले राजनीतिक दलका आआफ्नै संगठनहरु भए पनि संस्थाभित्र राजनीति नगर्न सुझाव दिएका हुन् ।
एनआरएनए दिवसका अवसरमा आयोजित कार्यक्रमलाई आज आइतबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पोलिटिकल पार्टीका आफ्नै संगठनहरु होलान्, त्यल्ले आफ्नो काम आफैं गर्ला, यस संगठन भित्र पोलिटिकल ‘टग अफ वार’ नगरौं ।’
एनआरएनएलाई राजनीतिक हस्तक्षेप र प्रयोगबाट बाहिरै राख्नुपर्ने आफूले लामो समयदेखि बताउँदै आएकोसमेत प्रधानमन्त्रीले ओलीले बताए ।
प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीको माग सम्बोधन गर्न संविधानमै गैरआवासीय नागरिकता उल्लेख गरेको बताए । अहिले गैरआवासीय नेपालीले नागरिकताको काम नभएको गुनासो गरेकाले त्यसलाई पनि सम्बोधन गर्ने उनले बताए ।
‘यसको समस्याको समाधान कसरी गर्ने हो म भन्न चाहन्छु तपाईंहरुलाई तपाईंहरुले नै सुझाव गर्नुस्, योयो गरिदिनुस् भनेर, हामी गर्छौं’, उनले भने, ‘हामीलाई यसबाट न सावाँ बढाउनु छ न ब्याज कमाउनु छ ।’
प्रधानमन्त्री ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए ।
प्रधानमन्त्री ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने दोहोर्याउँदै भने,‘प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न लागौं ।’
‘नेपालमा विकासका लागि बाटा घाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ’, प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली सङ्घको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे ।
उनले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्र रुपमा काम गर्न आग्रह गर्दै भने, ‘म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन ।
राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।’
आफू सन् १९९९ तिर मा मस्को जाँदा डा.उपेन्द्र लामिछानेसँग गैह्र आवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधा दिन सरकारले कन्जुस्याइँ नगर्ने पनि स्पष्ट पारे ।
फरक प्रसङ्गमा उनले आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउन लगाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै पक्षबाट धम्की नदिन चेतावनी दिए । ओलीले एनआरएनए भित्र अनावस्यक राजनीति गरेर बखेडा झिकिएको बताए ।