काठमाण्डौं । नेपाली डकुमेन्ट्री फिल्म क्षेत्रमा चिरपरिचित नाम हो, लव प्याकुरेल । विगत दुर्इ दशकदेखि आफ्नो सम्पादन सीप र कलामार्फत काल्पनिक र गैरकाल्पनिक चलचित्रमा उत्कृष्ट नजिता पश्केका प्याकुरेलले सयभन्दा बढी डकुमेन्ट्री, कथानक फिल्म, लघु फिल्म, विज्ञापन फिल्म, टिभी टक शो, टेलिभिजन सिरियल आदिमा काम गरिसकेका छन् ।
नेपाली कथानक चलचित्रका सम्पादकहरूको कमार्इ औसत छ भन्न सकिन्छ ।हाराहारी महिनाको एक वा डेढ लाख जति । चलचित्रमा काम गरे वापत हुने आम्दानीले उनीहरूको दैनिक जीवनयापन राम्रैसँग चलेको छ । तर, डकुमेन्ट्रीमा काम गर्ने राम्रा सम्पादकहरूको आम्दानी भने सोचेभन्दा धेरै बढी रहेको छ । गैर-काल्पनिक कथाका फिल्महरूका लागि नाम चलेका सम्पादक प्याकुरेलले १२ लाखसम्म पारिश्रमिक लिएका छन् । राउटेः अन्तिम घुमन्ते जाति नामक डकुमेन्ट्रीमा उनले सो रकम लिएका हुन् । यस डकुमेन्ट्रीका निर्माता/निर्देशक हरी थापा हुन् । एउटा डकुमेन्ट्रीले पोष्ट-प्रोडक्सन पुरा गर्न दुर्इ वा तीन महिना लाग्ने र/वा एक डकुमेन्ट्री परियोजनाको लगानी मूल्यको १८ देखि २० प्रतिशत पोष्ट-प्रोडक्सनमा खर्च गर्नुपर्ने प्याकुरेल बताउँछन् ।
प्याकुरेल भन्छन्, ‘सम्पादक एक व्यक्ति मात्र होइन, चलचित्रको पहिलो दर्शक र अन्तिम न्यायाधीश हो । उसले कथा, शैली, भावना, विचार, दृष्टिकोणको गठन र चलचित्रले बोक्ने खास उद्देश्यको समन्वय गर्न अत्यन्त महत्वपूर्ण भूमिका निभाउनु पर्छ । त्यसकारण काम अनुरूपको पारिश्रमिकको चाहना स्वभाविक हुन्छ ।’ फिल्मको पर्दामा सुन्ने र देख्नेको लोकप्रियता ठूलो हुन्छ तर पर्दामा देख्ने र सुन्नेलाई आकार दिने, कला भर्ने र संयोजन गर्नेहरू भने अज्ञात वा अपरिचित बनेका हुन्छन् । फिल्मका वास्तविक ‘नायक’ पर्दा पछाडिका तिनै पात्र हुन्, जसले फिल्म खिच्छन्, सम्पादन एवं निर्देशन गर्छन् । तिनको सीप, कला र क्षमतानै फिल्मको मूल्य हो ।
प्याकुरेल भन्छन्, ‘नेपाली समाज, संस्कृति र स्थानीय जीवनको कथा बोकेको फिल्मले दर्शकलाई आकर्षित गर्न सजिलो हुन्छ र त्यस्ता फिल्मलाई दर्शकले रुचाएका छन् ।’ कुनै पनि श्रव्यदृश्य सामग्रीलाई सफल र लोकप्रिय बनाउन दर्शकलाई आकर्षित गर्नुपर्ने प्याकुरेलको कथन छ ।
‘झिल्को’बाट सुरू भएको सम्पादन यात्रा आशाको दियो, सपना, प्रायश्चित, वर्गसत्ता, निलो आकाश, बिर्सिइएका महिलाहरू, शेर्पाः सगरमाथाका वास्तविक नायकहरू, मकैको बिहे, हिमालयमा हेलिकप्टर उद्दारकर्ताहरू, सगरमाथाको प्रतिबिम्ब, नीजामतीः अण्डर फायर, राउटेः अन्तिम घुमन्ते जातीसम्म आइपुग्दा प्याकुरेलले सफलताको शिखर चुम्ने नाम बनाइसकेका छन् । प्याकुरेलले सम्पादन गरेका दर्जनौं डकुमेन्ट्री फिल्मले राष्ट्रिय र अन्तर्राष्ट्रिय सफलता र पुरस्कार हात पारेका छन् ।
करियरको शुरुवाती दिनमा निकै संघर्ष र कडा मेहनत गर्नुपरेको अनुभव प्याकुरेलसँग छ । त्यो मेहनत आजका दिनमा बरदान सावित भएको उनी बताउँछन् । लामो अनुभवले उनलार्इ सिद्दहस्त बनाएको छ, उनी फिल्मको प्राथमिकता बुझेर काम गर्छन् । प्याकुरेल भन्छन्, ‘लिनियर सिस्टमबाट नन्लिनियर सिष्टम वा डिजिटल प्रविधिमा आइपुग्दा हामीले एउटा अध्याय पार गरिसकेका छौं । अब प्रत्येक प्राविधिक र चलचित्रकर्मीहरूले नयाँ विकसित प्रविधिको प्रयोगलाई महत्व दिनुपर्छ । यो समयको माग हो । विज्ञानप्रविधिको अपटुडेट ज्ञान र सीप उपयोग गर्न सक्षमहरूनै अब सफल हुनेछन् ।’ वास्तवमा प्याकुरेल समकालीन डकुमेन्ट्री सम्पादकहरूमध्ये महँगा छन् र ‘चुजी’ पनि छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६ १४:४४