काठमाडौं, १६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले हालै सम्पन्न भएको उपनिर्वाचनको मत परीणामप्रति नेकपा सन्तुष्ट रहेको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकारले धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गराएको सुनाए । उनले भने,‘यो भनेको निर्वाचन प्रणालीप्रतिको पनि सुधार हो ।’ सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले भने,‘हामी यो उपनिर्वाचनको मतपरीणामबाट खुशी छौं ।
हामीले प्रतिनिधिसभामा शतप्रतिशत, प्रदेशमा ७५ प्रतिशत निकालेका छौं । हाम्रो पकड रहेको धरानमा भने हामी पराजित भयौं । तर, म यो निर्वाचन परीणामबाट खुशी छु ।’ उनले निर्वाचन हुनुभन्दा अगाडि विभिन्न दलहरुले नेकपा र सरकारका बारेमा एउटा कोणबाट कुरा गर्ने गरेको र अहिले निर्वाचन भएपछि अर्कै कोणबाट कुरा गरेको सुनाए ।
उनले नेकपाविरुद्ध सबैले मोर्चाबन्दी र गठबन्धन गर्दापनि उपनिर्वाचनमा राम्रो नतिजा आएको भन्दै यसलाई ऐतिहासिक सफलताको संज्ञा दिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि संवैधानिक रुपमा पनि मुलुक बलियो भएको सुनाउँदै भने,‘यो सरकारले भारतले मिचेको कालापनी, लिपुलेक र लिम्पियाधुराको सिमाको विषयमा पनि कडा निन्दा गरेको छ । सरकारले वार्ता तथा कुटनीतिक पहलको माध्यमबाट नेपालको भूमी फिर्ता गर्ने अडान लिएको छ ।
प्रधानमन्त्रीज्यूले एक ईन्चपनि नेपालको भूमि मिच्न दिईँदैन् भन्नुभएको छ । पोखरेलले वर्तमान सरकारले मुलुकमा सुशासन कायम गरेको सुनाउँदै सरकारले ठूलादेखि साना सबै अपराधीलाई कारबाहीको दायरामा ल्याएको बताए । उनले भने,‘सरकारले अपराधीलाई र बलात्कारीलाई कारबाहीको दायरामा ल्याउने काम गरेको छ । १२ वर्षअघि जिउँदै मान्छेलाई ईट्टाभट्टामा जलाउने आलम थुनामा हुनु, बलात्कारीहरु थुनामा हुनु यसको उदाहरण हो ।’ त्यतिमात्रै नभएर न्यायिक र प्रशासनिक क्षेत्रमा पनि सरकार अत्यन्तै सफल भएको उनको दाबी छ ।
सरकारले राष्ट्रियतालाई सुदृढ र मुलुकलाई समृद्ध बनाउने काम गरेकोपनि उनले स्पष्ट पारे । उनले भने,‘सरकार समृद्ध नेपाल, सुखी नेपालीको नारा साकार पार्न लागिरहेको छ । सन् २०३० सम्म नेपाललाई दिगो विकासको लक्ष्यमा पुर्याउँछौं ।’ उनले भक्तपुर प्रदेशसभा (क) मा एकताबद्ध भएर नेकपाको उम्मेद्धवारलाई विजयी बनाउन मतदान भएको र पार्टीबाट कुनै अन्तरघात नभएको स्पष्ट पारे ।
उनले भने,‘हामीले पूर्व, पश्चिम नभनीकन एकताबद्ध भएर मतदान गरेका हौं । म स्वयम निर्वाचनको कमाण्डर थिएँ । सिँगो नेकपा एकतावद्ध थियो । त्यो क्षेत्रमा कांग्रेस र राप्रपा संयुक्तले गठबन्धन बनाए । त्यही भएर जित निकाल्न सकिएन् ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण नेपालमा पनि गर्न सकिने बताए । उनले भने,‘नेपालको स्वास्थ्योपचार र चिकित्सक विश्वको कुनैपनि देशभन्दा कम छैनन् ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एन.पी. साउदले उपनिर्वाचनले कांग्रेसको जनमत बढेको र नेकपाको जनमत घटेको स्पष्ट पारे । उनले भने,‘यो निर्वाचनले कांग्रेसको जनमत बढेको छ । अहिले दुई तिहाई बहुमतको वर्तमान सरकारमा गम्भिर ह«ास भएको छ । हामी आगामी दुई वर्षमा कांग्रेसलाई पूर्नस्थापित गराउँछौं । कांग्रेस बलियो हुन्छ।’
आफूहरु आगामी निर्वाचनको लागि तयारीमा जुटेकोपनि उनले सुनाए । उनले भने,‘यो निर्वाचन परीणामलाई सकारात्मक रुपमा लिएका छौं । जनताप्रति हामी हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छौं ।’
यद्धपी उपनिर्वाचनको परीणामले तीनवटै तहका आधारभुत संरचनामा खासै प्रभाव नपर्ने उनको भनाई छ । उनले भने,‘यो निर्वाचनले नेकपाप्रति रुची घटाएको छ । कतिपय महत्वपूर्ण ठाउँमा हामीले जित हाँसिल गरेका छौं । भक्तपुर र धरानमा हामीले जित्यौं । कतिपय महत्वपूर्ण वडामा पनि जितेका छौं । यसले कांग्रेसलाई उत्साहित बनाएको छ ।’
त्यस्तै, कांग्रेस पराजित भएका कतिपय ठाउँमा पनि धेरै ठूलो मतान्तर नभएको उनको स्पष्टोक्ति थियो । उनले भने,‘पराजित भएका ठाउँमा पनि हामीले मतान्तर घटाएका छौं । निर्वाचनको परीणाम सत्तासिन अनुकुल आएन्, यो भनेको उसको लोकप्रियतामा गम्भिर ह्रास हो ।’ उपनिर्वाचनले सरकारप्रति जनताको असन्तुष्टि पोखिएको पनि उनको टिप्पणी छ ।
काँस्की क्षेत्र नम्बर २ र दाङमा सहानुभुतिको कारण नेकपाका उम्मेद्धवारले विजयी हाँसिल गरेको उनको विश्लेषण छ । उनले भने,‘अरु ठाउँमा जहाँ नेकपाले उम्मेद्धवारले जितेका छन्, ती ठाउँमा पनि सहानुभुति लहरका कारण उनीहरुको अनुकुल परीणाम आएको हुनसक्दछ । किनभने ती ठाउँमा तत्कालिन पदासिन व्यक्तिहरुका विद्यवाहरु उम्मेद्धवारको रुपमा रहिआएका थिए । त्यही भएर सहानुभुति भोट आयो ।’ बाग्लुङमा त नेकपाले पराजयको डरले उम्मेद्धवारी नै नदिएको र जनमोर्चासँग आत्मसमर्पण गरेको उनको आरोप छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले उपनिर्वाचनको परीणामले सरकारविरुद्ध जनमत प्रकट भएको स्पष्ट पारे । उनले भने,‘समग्रमा यो उपनिर्वाचनमा नेकपाविरुद्ध जनमत प्रकट भएको देखियो । उसले भक्तपुर र धरानमा दुई महत्वपूर्ण सिट हार्यो । पोखरा र बाग्लुङमा उसको स्थिर नतिजा आयो । धरान र भक्तपुरमा चाहीँ सरकारविरुद्ध जनमत आएको हो ।’
जबराले सरकारले दुई तिहाई बहुमतको अवसरलाई खेर फालेको पनि आरोप लगाए । उनले भने,‘यो सरकार बनेको झण्डै दुई वर्ष भयो । तर, यसलाई यो अवधिमा तौलने हो भने राजनीतिक रुपमा सफल भएको छ । तर, विकास र समृद्धिको हिसाबमा असफल भएको छ । वर्तमान प्रधानमन्त्री ओलीजी पनि राजनीतिक रुपमा सफल हो । तर, विकास र समृद्धिको हिसाबमा असफल हुनुभयो । उहाँले दुई तिहाई बहुमत खेर फाल्नुभयो । उहाँले ऐतिहासिक मौकाको सदुपयोग गर्न सक्नुभएन् ।’ सरकार विकास र प्रशासनिक रुपमा पुरै असफल भएको उनको आरोप छ ।
जबराले मुलुकलाई हिन्दूराष्ट्रको रुपमा पूर्नस्थापित गर्नको लागि देशव्यापी रुपमा सही छाप (हस्ताक्षर) गर्ने आफूहरुको तयारी रहेको पनि सुनाए । उनले भने,‘देशभरि हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर संकलन गरेर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बुझाउँछौं ।’
उनले नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्ने आफूहरुको अठोट रहेको सुनाए । उनले भने,‘यो मुलुकलाई हिन्दूराष्ट्र बनाएरै छोड्छौं । यो अभियानमा हामी सम्पन्न गर्छौं ।’
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६ १६:०८