२४ कात्तिक, काठमाडौं । भारतको नयाँ नक्साको विरोधमा भारतीय दूतावासतर्फ अघि बढेको राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठनको जुलसमा प्रहरीले हस्तक्षेप गरेको छ ।
राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गर्दै लाठी चार्ज गरेको हो । प्रहरीको लाठीले राप्रपाका सहायक प्रवक्ता रामानन्द न्यौपाने, सन्तोषी शाही ठकुरी, शशी भण्डारी, छत्र खडायत, निराजन बम, कर्ण बहादुर माझी, उपेन्द्र विक्रम पुरुष, चेतराज सिंह, राजन अधिकारी, प्रदीप खड्का, नरेश बिक, निशान कार्की, मुकेश पदारा, राजेन्द्र बिक, केशवराज मजगाई, देउराम भेल, कृष्ण थापा, दमन बिक सहित दुई दर्जन पक्राउ लगायतका नेता कार्यकर्ता घाइते भएका युवा संगठनका अध्यक्ष प्रकाश रिमालले जनाएको छन् ।

युवा संगठनले धुम्बाराहीबाट विशालनगर, भाटभटेनी, गैरीधारा हुँदै भारतीय दूतावास लैनचौरतर्फ गएको राप्रपाको जुलुसलाई प्रहरीले उत्तरढोका नजिक रोकेर लाठीचार्ज गरेको अध्यक्ष रिमालले जनाए । शान्तिपूर्ण विरोध प्रदर्शनमा हस्तक्षेप गरेको भन्दै उनले सरकारको विरोध गर्दै पक्राउ परेकाहरुको अविलम्ब रिहाइ गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा गम्भीर बन्न राप्रयुसं सरकारसंग माग गरेको समेत बताएका छन् ।
भारतले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको लिम्पियाधुरासमेत समेटिएको भन्दै केही दिनयता नेपालमा विरोध चर्किएको छ । शुक्रबार सत्तारुढ नेकपाको भातृ संगठनले भने लैनचौरमा भारतीय दूतावास अगाडि नै विरोध प्रदर्शन गरेको थियो ।