काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापाले एकपटक देउवा, भट्टराई र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमुना पेश गरेको बताएका छन् ।
सामाजिक संजाल टुइटरमा लेख्दै राप्रपा अध्यक्ष थापाले भारतीय विदेश मन्त्री जयशंकरलाई पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई र शेरबहादुर देउवाले होटलमै गएर भेटेको बिषयलाई लक्षित गर्दै फेरि एकपटक देउवा, भट्टराई र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमुना पेश गरेको बताएका हुन् ।
थापाले पूर्व प्रधानमन्त्रीले एक विदेशी मन्त्रीलाई उसकै होटलमा औपचारिकरुपमा भेटेको अलि सुहाएन कि? भनी प्रश्न गरेका छन् ।
नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री जयशंकरलाई भेट्न कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, समाजवादी पार्टी नेपालका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहितका नेताहरु पुगेपछि टुइटरमा वादविवाद नै शुरु भएको हो ।
‘प्रोटोकल’ नमिल्ने भन्दै पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल जयशंकरलाई भेट्न उनी बसेको होटलमा गएनन् । तर कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, समाजवादी पार्टी नेपालका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहितका नेताहरु भने जयशंकरलाई भेट्न उनी बसेको होटल द्वारिकाजमै पुगे ।
समाजवादी पार्टी नेपालका नेता भट्टराईले कमल थापाको ट्वीटको जवाफ दिँदै शुक्रबार बिहान लेखेका छन्, ‘शिशाको घरमा बस्नेले अर्काको झोपडीमा ढुंगा हान्नुहुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला, सुगौली सन्धि यताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसँग देशको हितमा खुला सम्बन्ध राख्ने पक्षमा छौँ ।’