काठमाडौं , राष्ट्रिय जनमोर्चाले २०६२–०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध गम्भिर खतरा उत्पन्न भएको औंल्याएको छ ।
वर्तमान सरकारप्रतिको असन्तोषका कारण पनि गणतन्त्रप्रति विरोध बढेर जाने सम्भावना रहेको उसको ठम्याई छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पार्टीको साउन ३१ र ३२ गते बसेको केन्द्रिय कार्यसमिति बैठकले देशको राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक स्थितिकोबारेमा मूल्यांकन गरेकोबारे निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस्तो खतरा औंल्याईएको हो ।
पार्टीले जारी गरेको विज्ञप्तीमा पूर्वराजा, राजावादी र नेपाली कांग्रेसका नेताहरुले समेत धर्मनिरपेक्षताको विरोध गरेको कुरा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ,‘यदि धर्मनिरपेक्षता समाप्त भयो भने नेपाल हिन्दूराष्ट्र घोषणा हुनेछ र त्यस आधारमा राजतन्त्र पुनःस्थापना हुन सक्ने खतरा छ । तर, जनताको संगठित आवाजबाट प्रतिगमन दोहोरिन नदिन हामी प्रतिबद्ध छौं ।’
वर्तमान नेकपा नेतृत्वको सरकारले पनि सही प्रकारले काम गर्न नसकेको अध्यक्ष चित्रबहादुर केसीले आरोप लगाए । केसीले नेपालमा राजतन्त्र पुनःस्थापना हुनसक्ने खतरा औंल्याए । अध्यक्ष केसीको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘कतिपय कार्यमा त्यो असफल पनि भएको छ । सरकारप्रतिको असन्तोषको कारणले स्वयं गणतन्त्रप्रति पनि विरोध बढेर जाने सम्भवाना छ ।’
कतिपय वामपन्थी दलहरुको गणतन्त्र र संविधानको विरुद्धका नीति र गतिविधिले प्रतिगमनलाई नै मद्दत पुग्ने राष्ट्रिय जनमोर्चाको विश्वास छ । उसले संघीयताले नेपालको राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र सार्वभौम सत्तामाथि नै खतरा रहेको पनि औंल्याएको छ ।
भ्रष्टाचार, नागरिकता समस्या, महँगी, करवृद्धि, तराईमा भएको शोषण, उत्पीडन, मजदुर, किसान, महिला, जनजाति, उत्पीडित जातिलगायत विभिन्न जनवर्ग र समूदायका समस्याहरु पनि विकराल बन्दै गएको उसको ठम्याई छ । विज्ञप्तीमा भनिएको छ,‘देशको अर्थतन्त्र झन–झन बिग्रदै गएको छ । सामाजिक न्याय पनि छैन् । अतः गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षाका लागि र भ्रष्टाचार, महँगी, विभिन्न जनवर्ग तथा समूदायहरुको हकहितका लागि संघर्ष गर्नुपर्ने राष्ट्रिय आवश्यकत्ता भएको छ ।’
नेपाललाई हिन्दुराज्य बनाउने बाहानामा धर्मनिरपेक्ष बनाउने र गणतन्त्र सिध्याउने कुरामा बाह्य शक्तिको चलखेल भएको हुँदा यसमा नेपाली जनता सतर्क हुनुपर्ने कुरामा समेत उनले जोड दिए ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल, महासचिव जनकराज शर्मा, सचिव हिमाल पुरी, कोषाध्यक्ष ओमबहादुर पुरी र केन्द्रिय सदस्यद्धय घनश्याम न्यौपाने र लालबहादुर थापाको पनि उपस्थिति रहेको थियो ।