काठमाडौं , नेपालगञ्ज उपमहानगरपालिकाले गाई संरक्षण कोष बनाउने भएको छ। कान्जीहाउसमा राखिएका गाईहरु धमाधम मरिरहेको भन्दै मेयरको कडा आलोचना भएपछि गाई संरक्षणको लागि कोष बनाउने, रेखदेखका लागि व्यवस्थापन समिति गठन गर्ने, अनुगनम समिति बनाउने निर्णय भएको हो।
मेयर डा. धवलशमशेर राणाले गाई संरक्षणमा लागेका व्यक्तिहरुलाई बोलाएर छलफल गर्दै उक्त निर्णयहरु गरेका हुन्।गाई संरक्षण कोष बनाएर उपमहानगरपालिकाले खाता खोल्ने, त्यसमा संघ संस्थाको सहयोग लिने, मेयर राणाकै संयोजकत्वमा रहेको कान्जीहाउस व्यवस्थापन समितिले कोषको रकम खर्च गर्न सक्ने, उपप्रमुख उमा थापामगरको संयोजकत्वमा रहेको समितिमा राजनीतिक दल सम्मिलित टोलीले अनुगमन गर्ने निर्णय भएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिए ।
कान्जीहाउस व्यवस्थापन समितिमा गाई संरक्षणमा खटिएका संघ संस्था र युवाहरु सम्मिलित हुने तय गरिएको छ। नेपालगञ्ज–२१, बिर्तामा सञ्चालन गरिएको कान्जीहाउसमा धमाधम गाईहरु मरेको समाचार आएपछि आर्य समाज, नेपालगञ्ज ग्यालरीको टीमले दैनिक त्यहाँ पुगेर घाँस, दानापानी खुवाउनेदेखि औषधी उपचार गरिरहेको छ।
डेढ/दुई सय गाई राख्नका लागि बनाइएको कान्जीहाउसमा तीन सय ९३ बढी गाई, गोरु, गधा, खच्चड भएपछि व्यवस्थापनमै समस्या भएको हो। गाई, गोरु, गधा, खच्चड, घोडा सबैलाई एकै ठाउँमा राखिदा बलियोले मात्रै खाने, निर्बललाई हान्ने भएकाले निर्बल पशुले खाना खान नपाई मरिरहेको छ। मंगलबारको छलफलमा गाई संरक्षणकर्ताहरुले गाई, गोरु, गधा, खच्चड र घोडालाई छुट्टाछुट्टै ठाउँमा राख्न सुझाव दिएका छन्।
कान्जीहाउसमा अहिले पनि दैनिकजसो नै गाई मरिरहेका छन्।मंगलबार नै दुई वटा मरेको छ।नेपालगञ्ज उपमहानगरपालिकाले सडकमा रहेका गाईलाई कान्जीहाउसमा पुर्याएर राम्रै गर्न खोजेको भएपनि व्यवस्थापन फितलो हुँदा गाई मरिररहेका छन्।