काठमाण्डौ । राप्रपा संयुक्तका अध्यक्ष राणाले राष्ट्र प्रमुखको भूमिकामा राजसंस्थालाई राख्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। नेपालमा राष्ट्रप्रमुखको रुपमा रहेको राष्ट्रपतिको भूमिका निष्पक्ष र स्वतन्त्र हुन नसकेकोले अब राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने उनको भनाई छ।
रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै राणाले ‘नेपालमा राजसंस्था अन्त्य भएको ११ वर्ष भैसक्यो, अहिलेको राष्ट्र प्रमुख राष्ट्रपतिको भूमिका पार्टीभन्दा माथि उठ्न सकेन्’ । निष्पक्ष र कुनै पनि पार्टीमा आवद्ध नभएकोले राजसंस्थाजस्तो पुरानो संस्थाले मात्रै राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्नसक्ने उनको तर्क छ। ‘हामीले त राजसंस्थासहितको प्रजातन्त्र भनेका छौं। यसमा बहस पैरवी हुनुपर्छ’, उनले भने।
अध्यक्ष राणाले आफ्ना जिजु काकाले दिएको दरबारले पनि नपुगेर अहिले राष्ट्रपति शीतलनिवास नजिकै रहेको प्रहरी तालिम केन्द्रको जग्गा पनि सोखको लागि राष्ट्रपति कार्यालयको बनाउने काम गरेकोमा आपत्ति जनाए। उनले भने, ‘राष्ट्रपतिले आफ्नो सोख पुरा गर्नको लागि अहिले पोलिस एकेडेमीलाई पहाडतिर धकेल्ने काम गर्नुभयो। जुन जनभावना विपरित र स्वार्थ प्रेरित छ।’
अध्यक्ष राणाले राजा ज्ञानेन्द्र शाहसँग नडराउन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह समेत गरे।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न दिएको चेतावनीको बारेमा सोधिएको प्रश्नमा उनले भने, ‘प्रचण्डजीले जे बोल्नुभो, त्यो उहाँको स्वतन्त्रताको कुरा हो। तर, धम्की नै दिएर यो गर, उ नगर भनेर भन्नु चाहीँ हुँदैन। राजाले म फर्किन्छु भनेर भाषण गरेर हिँडेको छैन। उहाँ जहाँ जानुहुन्छ, त्यहाँ जनताको भीड लाग्छ, त्यसो हुनु अपराध हो?’