१८ साउन, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले देशमा कांग्रेस र कम्युनिष्टले प्रजातन्त्रको आवरणमा प्रजातन्त्रको नाउँमा प्रजातान्त्रिक ढंगबाट नै देशमा सहमति मै ब्रम्हलुट मच्चाएको बताएका छन् ।
राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठनद्वारा आज राजधानीमा आयोजित उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले प्रमुख प्रतिपक्ष कांग्रेस समेत भ्रष्टाचारको हरेक काण्डमा भागिदार भएकोले प्रतिपक्ष आवाज कमजोर र नगण्य हुँदै गएको बताएका छन् ।
देशमा राजसंस्थालाई हटाईएको १३ वर्ष भयो तर देश झन झन जटिल अवस्थामा पुगेको बताउँदै अध्यक्ष थापाले राजसंस्था हटाएपछि देश अभिभावकविहिन भएको र जसले जे गरेपनि हुन्छ भन्ने स्वेच्छाचारिता बढेको उल्लेख गरेका छन् ।
अध्यक्ष थापाले भने -देश झन जरजर अवस्थामा छ, भ्रष्टाचार अहिले जस्तो नाङ्गो ढंगबाट यस भन्दा अगाडि कहिल्यै देखिएको थिएन । एनसेलको कर छली प्रकरणमा करिब ४० अर्ब भन्दा धेरै भ्रष्टाचार भएको, वाईड वडी जहाज खरिद कान्डमा ४ अर्बभन्दा धेरै भ्रष्टाचार भएको, ३८ सय किलो सुन त्रिभुवन विमान स्थलबाट मात्र तस्करी भएको, बुढी गण्डकी र मेलम्ची काण्डमा अरबौं भ्रष्टाचार भएको, ११४ रोपनी बालुवाटारको जग्गा भुमाफिया खडा गरेर हड्पने प्रयास भएको सार्वजनिक हुँदा छानबिन र कारबाही नहुनु दु:खद भएको बताउँदै अध्यक्ष थापाले सत्ता र प्रतिपक्षको मिलेमतोमा सबै भ्रष्टाचारमा राष्ट्रिय सहमति रहेको उल्लेख गरेका छन्, यो विकास र समृद्धिका लागि मात्रै होइन देशको अस्तित्व कै लागि डरलाग्दो कुरा हो ।
अहिले एउटा सत्तारुढ दल स्कुल विभाग विवादमा फसेको, कांग्रेस महाधिवेशन टुंगो लगाउने विवादमा अल्झिरहेको राष्ट्रिय महत्त्वका विषय ओझेलमा परिरहेको अध्यक्ष थापाले बताउनु भयो ।

अध्यक्ष थापाले न्याय दिने निकायहरुमा कार्यकर्ता भर्ना गरिनु, सुरक्षा अंगमा छानीछानी आफ्ना मान्छे राखिनु, कारबाही गर्ने सबै निकायमा वर्षौसम्मका लागि आफ्ना मान्छे सेटिङ गर्ने काम भइरहेकोमा चिन्ता समेत व्यक्त गरेका छन् । उनले यस्तो अवस्थामा कसले गर्ने कारबाही? भनी प्रश्न समेत गरेका छन् ।
थापाले जनयुद्धमा बन्दुक बोक्नेहरु भौतारिएर अरब र मरुभूमिका जंगलमा पुगेका छन् भने हतियार बोकाउनेहरु दश वर्षमा लखपति होइन, करोडपति पनि होइन अरबपति भएको बताउँदै जनताले यसको खोजी गर्नुपर्नेमा जोड दिएका छन् । राप्रपाले कांग्रेस र कम्युनिष्टले तय गरेको मार्गचित्र गलत भएको र अलग विचार सहितको विकल्प आफूहरूले दिएको बताए ।
उनले भने बाटो नै गलत छ, ड्राइभर मात्र फेरेर हुन्न, ओलीको ठाउँमा प्रचण्ड वा शेरबहादुर नै भएपनि देशका लागि केही हुनेवाला छैन किनकि बाटो नै गलत छ ।
राप्रपाका वरिष्ठ नेता दिपक बोहराले राष्ट्रवादी विद्यार्थीहरुकै साथ, सहयोग र प्रेरणामा नै अबको आन्दोलन अघि बढ्ने भएकाले तयार रहन विधार्थीलाई आग्रह गरेका छन् ।
कार्यक्रममा संगठनका पूर्व अध्यक्षहरु धनबहादुर बुढा, राजाराम बर्तौला, युवक संगठनका अध्यक्ष प्रकाश रिमाल, राप्रविसंका अध्यक्ष महेश बहादुर सिंह, उपाध्यक्ष कमल बम, निराजन बम लगायत जिल्ला र क्याम्पस कमिटिका नेताहरूले नेपालको विद्यार्थी आन्दोलन र राष्ट्रवादी आन्दोलनमा राप्रविसंको भूमिका बारे आफ्नो धारणा राखेका थिए ।