काठमाडौं, भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाललाई अस्थिर बनाउने भारतको कुनै योजना नभएको बताएका छन्।
नेपाल–भारत मैत्री समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाल भारत सहयोग वर्तमान सन्दर्भमा सम्भावना र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रममा नेता चौथाइवालेले नेपाल सार्वभौम राष्ट्र भएकाले भारतले कदापि हस्तक्षेप नगर्ने बताएका हुन्।
रअ प्रमुखको नेपाल भ्रमणलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका बेला भाजपा नेता चौथाइवाले नेपाल आएर यस विषयमा प्रष्ट पारेका हुन् । ‘नेपालमा एकथरी मान्छे भारतको ठूलो डिजाइन छ भन्छन्, वास्ताविक चाँहि त्यस्तो होइन, उनले भने, ‘नेपाललाई अस्थिर बनाउने भारतको कुनै योजना छैन।’
नेपाल सार्वभौम राष्ट्र भएकाले आफ्नो निर्णय आफैं गर्न सक्ने उनको भनाइ छ। उनले उत्तर एन्लान्टिक संघ (नाटो) का देशबीचमा पनि मतभेद् रहेको भन्दै नेपाल र भारतका बीचमा उतारचढाव आउनु सामान्य कुरा भएको बताए। ‘हामी नेपालसँग परस्पर र विश्वासका आधारमा सम्बन्ध बढाउन चाहान्छौं,’ उनले भने, ‘यो सम्बन्ध एकपक्षीय हुँनुहुँदैन, दुवैले लाभ लिने हुनुपर्छ।’
यस्तै उनले आफूहरु अखण्ड नेपालको पक्षमा रहेको बताए। पहिले भ्रममा थियौं, मधेसबाट नेपाल हेर्थ्यौ,उनले भने, अब काठमाडौबाट हेर्नेछौ।