कालिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटका वडा कार्यालयहरुमा ताला लगाएका छन् । आइतबार राती कालिकोट को रास्कोट पलाता, पचालझरना र सान्नीत्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गर्दा स्थानीय तहका काम ठप्प भएको छ ।
नरहरीनाथ गाउपालिकाका २ र ४ वाहेक सवै वडाहरुमा तालवन्दी भएकाले दैनिक कामकाजमा समस्या भएको नरहरीनाथ गाउँपालिका उपाध्यक्ष मनसोभा वुढाले बताइन् । रास्कोटका ७ वडा कार्यालयमा पनि ताला लागेका छ ।
आफ्ना कार्यकर्तामाथि प्रहरीले दमन गरेको, स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको, कर्मचारी नियुक्तिमा नातावाद हाबी भएका र कर्मचारीबाट जनप्रतिनिधिले कमिसन खाएकाले स्थानीय तहमा ताला लगाउनुपरेको विप्लव नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडि रणदिपले बताए ।
नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ताहरुले सहयोगस्वरुप चन्दा माग्दा चन्दा नदिएपछि कार्यालयमा ताला लगाइएको हुन् सक्ने अशंका गरिएको छ । आइतबार एकै साथ कालिकोटका ९ वटै स्थानीय तहमा आर्थिक सहयोगको लागि चिठि आएको जनप्रतिनिधिहरुले बताएका छन् ।
‘कसरी पैसा दिने समस्या आएको छ । नदिउँ भने, कार्यालय तोडफोडको डर, दिउ भने कसरी दिउँ, ठुलो समस्या आएको छ’ नरहरिनाथ गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष तुलाराज विकले भने ।
यता, असार १० गते जिल्लाको नरहरिनाथ गाउँपालिकाको कार्यालयमा चन्द समुहले बन्दको अवज्ञा गरेको भन्दै कार्यालयमा आगजनी गरेदेखि कालिकोटका ९ वटै स्थानिय तहका नगरपालिका र गाउँपालिकामा सुरक्षा व्यवस्था कडा पारे पनि चन्द समुहले कार्यालयमा ताला लगाउँदासम्म सुरक्षा निकायले सुरक्षा दिन नसकेको आरोप लागेको छ ।
पचाला झरनागाउँपालिका जारकोटको गाउँपालिकाको कार्यालयको नजिकै ३५ जनाको दरबन्दी भए पनि सुरक्षाको महसुस हुन नसकेको भनि स्थानियले गुनासो गरेका छन् ।