काठमाडौं, १४ असार । स्वर्गीय मदन भण्डारीले प्रतिपादित गरेको ‘जनताको बहुदलीय जनवाद’ अहिले नेकपाभित्र बहसको विषय बनेको छ।
शनिबार मदन भण्डारी फाउन्डेसनले ६८ औं जन्म जयन्तीको अवसर पारेर काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा जबज बारे चर्चा परिचर्चा भयो। जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीका साथै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चर्चा गरे।
कार्यक्रममा प्रधानमन्त्रीभन्दा अगाडि बोलेका अध्यक्ष प्रचण्डले सरकार हाम्रै हुँदा मदन भण्डारीको हत्यारा पत्ता नलागेको भन्दै आश्चर्य व्यक्त गरे। उनले भने, ‘हामी नै सरकारको नेतृत्वमा छौं, तर मदन भण्डारीका हत्यारा किन पत्ता लगाउन सक्दैनौं ?’
कार्यक्रममा प्रचण्डले भने, ‘अहिले पनि हामी आमनेपाली जनतालाई लाग्छ, त्यो दुर्घटना होइन एउटा भयानक डिजाइनअन्तर्गत भएको हत्या हो ।
कहिले काहिँ अनौठो लाग्छ, केले दिँदैन हत्यारा पत्ता लगाउन? हामी अहिले त सरकारको नेतृत्व गरेका छौं बरु, यसलाई त्यसै-त्यसै ढिलो हुन दिउँ, आफैं ठीक हुन्छ भन्नेजस्तो अवस्था छ।’
सो कार्यक्रममा प्रचण्डले दरबार हत्याकाण्ड, दासढुंगाजस्ता काण्डहरु अहिलेसम्म रहस्यमय रहेको बताए।
सरकारमा आफ्नै नेतृत्व रहँदा पनि भण्डारीका हत्याराको खोजी गर्ने कार्यमा ढिलाइ भइरहेकोमा प्रचण्डले गुनासो पोखे।
यसबारे प्रधानमन्त्री ओलीले भने कुनै प्रतिक्रिया दिएनन्।