अछाम-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं नेकपा सुदूरपश्चिम इन्चार्ज भीम रावलले देशलाई थिलथिलो बनाउने काम नेपाली काङ्ग्रेसले गरेको बताएका छन् ।
नेकपा अछामको ढकारी गाउँपालिकामा आयोजित आमसभामा नेता रावलले वर्तमान सरकारले देश विकास र समृद्धिका लागि विभिन्न योजना अघि सारे पनि काङ्ग्रेसले बिरोधका लागि बिरोध गरिरहेको आरोप लगाए ।
“विगतमा पटकपटक बहुमत प्राप्त गरे पनि काङ्ग्रेसले जनताको मतको अपमान गरेको छ”, उनले भने, “काङ्ग्रेस आफ्ना सारा कर्म बिर्सेर नेकपा र सरकारको बिरोधमा मात्रै केन्द्रित भएको छ ।” कम्युनिष्ट सरकारले आफ्नो मूल्य, मान्यता र आदर्शअनुरुप देशको विकास गरिछाड्ने उनको भनाइ थियो ।
व्यक्तिगत लोभ, लालच र क्षणिक स्वार्थमा रही पार्टीलाई आँच आउने कामबाट टाढै रहन उनले कार्यकर्तालाई निर्देशन दिए । “विधि र सुशासनबिना विकासको कल्पना गर्न सकिँदैन”, नेता रावलले भने ।
देश र जनताका लागि कम्युनिष्ट सरकारले विगतदेखि नै जनमैत्री कार्यक्रम ल्याएको उनको भनाइ थियो ।
वृद्धवृद्धालाई भत्ताको व्यवस्थादेखि दलितका छोराछोरीका लागि छात्रवृत्ति कार्यक्रम, गाउँगाउँमा बजेट पठाउनेलगायत कार्य कम्युनिष्टले नै गरेको नेता रावलले बताए ।
बिगतमा गाउँमा बजेट पठाउनु हुँदैन भन्ने काङ्ग्रेसले अहिले गाउँमा आएको बजेट आफैँ खाउँ भन्ने नीति लिएको आरोप लगाए । (रासस)