काठमाडौं । प्रधानमन्त्री केपी शर्मा शनिबार साँझ युरोपका तीन देशको साताव्यापी भ्रमणमा प्रस्थान गरेका छन् ।
२० सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै ओली स्वीटजरल्यान्डको भियना प्रस्थान गरेका हुन् स्वीट्जरल्यान्डको भियनापछि प्रधानमन्त्री ओलीले बेलायत र फ्रान्सको भ्रमण गर्ने कार्यक्रम छ ।
भ्रमण दलमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, परराष्ट्र सचिव शंकर दास वैरागी, परराष्ट्र प्रवक्ता भरतराज पौड्याल, परराष्ट्रका शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारी, परराष्ट्रको युरोप अमेरिका महाशाखा प्रमुख घनश्याम भण्डारी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रतिनिधिसभाको उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिका सभापति विमल श्रीवास्तव, नेकपाकी सांसद विन्दा पाण्डेलगायत छन् ।
प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को शतवार्षिकीलाई सम्बोधन गर्नेछन् । त्यहाँ केही द्विपक्षीय भेटवार्ता पनि हुनेछ । ओली त्यही दिन २७ साँझ बेलायत जानेछन् ।
उनले सोमबार आईएलओको शतवाषिर्कीको विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । जेनेभामा रहँदा साइलाइनमा प्रधानमन्त्री ओलीले टर्कीका उपराष्ट्रपति फुअट ओकाट्या, नर्वेका प्रधानमन्त्री, स्वीट्जरल्यान्डका पूर्वराष्ट्रपति तथा फेडरल काउन्सिलर लगायतसित भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओली १० जुनमा बेलायतको औपचारिक भ्रमणमा जाने छन् । उनले १० जुनमा नै अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड युनियनले आयोजना गर्ने शान्ति, प्रजातन्त्र र विकास शीर्षकको कार्यक्रममा सम्बोधन गर्ने छन् । उनले नेपालको शान्ति प्रक्रिया, प्रजातन्त्र र समृद्धिको यात्राको विषयमा सम्बोधन गर्ने छन् ।
प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री थेरेजा मेसँग जुन ११ मा ‘१० डाउनीङ स्ट्रिट’ मा भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली बेलायतको अल पार्टी पार्लियामेन्ट्री ग्रुपले आयोजना गर्ने कार्यक्रममा समेत सहभागी हुने छन् ।
बेलायतपछि प्रधानमन्त्री ओली १२ जुनमा फ्रान्स जाने कार्यक्रम छ । उनले फ्रान्समा १३ जुनमा त्यहाँका प्रधानमन्त्री एडवर्ड फिलिपसँग द्विपक्षीय भेट गर्ने कार्यक्रम छ ।
उनले फ्रान्समा त्यहाँका व्यापारिक तथा उद्योगपति समुदाययसँग छलफल गर्ने कार्यक्रम समेत छ । ओली १६ जुनमा नेपाल फर्किने कार्यक्रम छ ।