काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षपछि आफू प्रधानमन्त्री बन्ने बताएका छन् ।
शनिबार विराटनगरमा अध्यक्ष प्रचण्डले देशको परिस्थिति अनुकुल रहे एक वर्षपछि पूर्व सहमतिका आधारमा आफू प्रधानमन्त्री बन्ने बताएका हुन् ।
‘एक वर्षपछि प्रधानमन्त्री बन्ने विषय पार्टीले सहमति र निर्णय गर्ने विषय हो । तर परिस्थिति कस्तो विकास हुँदै जान्छ, त्यसमा पनि निर्भर हुन्छ । पार्टी एकताको बेलामा ऐतिहासिक रुपमा जे सहमति गरेका छौँ । त्यसलाई हामी इमान्दारिता साथ कार्यान्वयन गर्दै लान्छौँ, ’उनले भने ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद चार पाँच दिन मात्रै बाँकी रहेको भन्दै दिएको प्रतिक्रिया प्रतिकात्मक भएको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी काठमाडौँ फर्कनु अघि दिल्लीमा प्रधानमन्त्री केपी ओलीले ‘मेरो कार्यकाल, एक वर्ष हैन । चार–पाँच दिन मात्रै बाँकी छ । अब म के भनौँ ?’ भनेको थिए ।
यता अध्यक्ष प्रचण्डले पार्टी एकताका बेला भएको सहमतिको स्मरण मात्र गराए भन्दै बाहिर प्रचार र होहल्ला गर्नुपर्ने नयाँ विषय नभएको बताए ।
उनले भने, ‘अन्तरवार्तामा पार्टी एकताका बेलामा हाम्रा बीच भएका सहमतिको कुरा स्मरण मात्रै गरेको छु । बाहिर प्रचार र होहल्ला गर्नुपर्ने नयाँ विषय बोलेकै छैन। प्रधानमन्त्री ज्यूले त्यो कुरा राम्ररी बुझ्नुभएको छ।’
आलोपालो सरकारको नेतृत्व गर्ने विषयलाई धेरै अतिरन्जित नबनाउन प्रचण्डले आग्रह पनि गरे ।
‘हामीले पार्टी एकताका बेला जे सैद्धान्तिक र व्यवहारिक सहमति गरेका छौँ, त्यही लाइनमा अघि बढ्दै जाने र पार्टीलाई सुदृढ गर्दै लग्छौँ । पार्टीका सम्पूर्ण साथीहरु, समर्थक र जनसमुदायलाई आलोपालो सरकारको नेतृत्व गर्ने विषयलाई अनावश्यक रुपमा पचारमा नलैजान र अनावश्यक पोलराइजेशन नगर्न मेरो आग्रह छ । उनले भने,‘ मैले जे बोले त्यो पहिला नै बाहिर आएकै कुरा हो । त्यो कुनै नौलो विषय र पहिलो पटक बोलेकोले कुरा होइन् । यसलाई अतिरञ्जित रुपमा लैजान जरुरी छैन ।’ -रातोपाटी