काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सांसद विकास कोष अन्र्तगत बजेटमार्फत सरकारले दिने भनेकोे ६ करोड रुपैयाँ आफ्नो पार्टीका सांसदले नलिने संकेत गरेको छ । यसबारे काँग्रेसले केही दिनमा निर्णय गर्ने पनि जनाएको छ ।
पार्टी कार्यालय सानेपामा सरकारले हालै ल्याएको बजेटबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा काँग्रेस नेता तथा छाया सरकारका अर्थमन्त्री समेत रहेका डा. मिनेन्द्र रिजालले यसवारे पार्टीले चाडै निर्णय गर्ने बताए । काँग्रेसमा बजेटमा सांसद विकास कोष अन्र्तगत छुट्याइएको रकम लिन नहुने मत बढ्दै गएको छ ।
जेठ १६ गते काँग्रेस संसदीय दलले विज्ञहरुसँग गरेको छलफलमा समेत उक्त रकम नलिन सुझाव दिएका थिए । शुक्रबारको पत्रकार सम्मेलनमा पनि छाया अर्थमन्त्री रिजालले यसवारे चाडै निर्णय गर्ने भन्दै सो रकम अस्वीकार गर्ने संकेत गरेका हुन् ।
रिजालले सरकारले ल्याएको बजेट वितरणमुखी भएको आरोप समेत लगाए । ‘५ वर्षका लागि आएको सरकारबाट वितरणमुखी बजेटको अपेक्षा थिएन । दुई तिहाईको तागत भएको सरकार, जसले अर्को तीन वटा वजेट ल्याउँछु भनेको छ । त्यो सरकारले भन्न सक्नुपथ्र्यो, यो वर्ष पेट बाँध्नुस्’ नेता रिजालको भनाई थियो ।
पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले गुण र दोषका आधारमा सरकारलाई समर्थन र विरोध गर्ने घोषित नीतिका क्रममा वर्तमान बजेटलाई वस्तुगत ढंगले विश्लेषण गर्नु र बजेटमा रहेको विरोधाभाष, कमजोरी र दिशाहिनतालाई चिरफार गर्दै सरकारलाई ऐना देखाउनु र जनतालाई वास्तविकता बुझाउनु प्रतिपक्षको कर्तव्य हुने बताए ।
‘शान्ति स्थापना, संविधान निर्माण र तीन तहको स्थिर सरकार निर्माण भएको वर्तमान देशले यस्तै ‘कामचलाउ प्रकृतिको’ बजेट अपेक्षा गरेको थिएन । नविन कार्यक्रम, दुरगामी लक्ष्य र जोखिम मोल्न सक्ने क्षमताको खोजी थियो, तर बजेट मार्फत सरकारले त्यो आँट र क्षमता प्रस्तुत गर्न सकेन’ प्रवक्ता शर्माले भने, ‘दुईवटा कम्युनिष्ट पार्टीको गठबन्धनले निर्वाचनको मैदानमा नागरिक पंक्तिमा वितरण गरेको व्यापक सपनाहरुको स्मृति यतिबेला गरिनु स्वभाविक हुन्छ । ती सपना र वर्तमान बजेटको यथार्थ तुलना गरिरहँदा प्रश्न जन्मछ यस्तै बजेटको परिणाममा पाँच वर्षमा ती सपनाहरुको दश प्रतिशत हासिल हुन सम्भव छ ? त्यो सम्भावना र संकेत बजेटमा देखिएन ।’
त्यस्तै काँग्रेसले प्रथम पाईला सहज र सुरक्षित ढंगले टेक्न नसक्दा त्यसको ठाडो असर दोस्रो पाइलालाई पर्दछ भन्दै सरकारको प्रथम बजेटले छाडेको अलमल, अलपत्र योजना र करिब सबै पुरानै अधुरा सपनाहरुको भारी दोस्रो वर्षको बजेटलाई बोकाइएको बताए । भने, ‘परिणाम भिन्न हुनेछ भन्ने कुनै भिन्न संकल्प र सुयोग्यताको संकेत देखिन्न् ।’