काठमाडौं, १६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् ।
पार्टी एकता हुँदाखेरी नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको भन्दै प्रचण्डले सो सहमति केपी ओलीले पालना गर्ने विश्वास व्यक्त गरे ।
पार्टी एकता हुँदा गरिएको सहमतिबाट कसैले दायाँ वायाँ गर्न खोजेमा या धेरै घमण्ड गरेमा कोही पनि नटिक्ने उनको भनाइ छ ।
प्राइम टेलिभिजनका लागि ऋषि धमलासँग गरिएको कुराकानीमा क्रममा अध्यक्ष प्रचण्डले पार्टी अध्यक्षको जिम्मेवारी आफूले पाएको खण्डमा ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री मान्न सकिने पनि बताए । तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता घोषणा हुनुभन्दा एक दिनअघि ०७४ साल जेठ २ गते प्रचण्ड र केपी ओलीवीच गोप्य सम्झौता भएको थियो, जसको चौथो बुँदामा आलो–पालो सरकारको नेतृत्व गर्ने भनिएको छ ।
गोप्य सहमतिमा प्रचण्ड र ओलीले हस्ताक्षर गरेका छन् भने साक्षीका रुपमा विष्णु पौडेल र जनार्दन शर्माको समेत हस्ताक्षर छ ।
समानताका आधारमा सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकोमा केपी शर्मा ओलीले १५ महिना सरकारको नेतृत्व गरिसकेका छन् । अब उनको अढाइ वर्षे कार्यकाल पूरा हुन १५ महिना बाँकी छ ।
यसवीचमा सरकारले राम्रो काम ग¥यो र पार्टी सन्तुष्ट भयो भने ओलीलाई ५ वर्ष नै सरकार चलाउन दिने प्रचण्डले बताएका छन् । तर, ओलीलाई ५ वर्ष प्रधानमन्त्री बन्न दिनका लागि पार्टी सञ्चालनको जिम्मा आफूले पाउनुपर्ने उनको माग छ ।
यसैवीच अध्यक्ष प्रचण्डले आगामी शनिबार पार्टीको सचिवालय बैठक बस्ने र पार्टी एकताका बाँकी कामहरु टुंग्याउने बताएका छन् ।
पार्टी एकताबारे बिराटनगरका पत्रकारले सोधेको प्रश्नको जवाफमा प्रचण्डले भनेका छन्, ‘पोलिटब्युरो गठनको हामी गृहकार्य गरिराखेका छौं, त्यो अन्तिम चरणतिर छ । हामी १८ गते सचिवालयको बैठकबाट यो कुराको टुंगो लगाउने प्रयासमा छौं । नभए पनि कार्यविभाजन र बाँकी रहेका एकतासँग सम्बन्धित रहलपहल कामहरु हामी १८ गते सक्ने गरी प्रयास गरिरहेका छौं ।’