काठमाडाैं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव अहिले मुलुकभर देखिएको छ ।
लामो समयदेखि सरकारसँगको असहमितमा विभिन्न किसिमका घटना गराउदै आएको विप्लवले आज (जेठ १३ गते सोमबार) गरेको बन्द आह्वानसँगै विभिन्न ठाँउमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका समाचार प्राप्त भएको छ ।
भक्तपुरमा शंकास्पद बस्तु
साेमबार बिहानै भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक शंकास्पद वस्तु फेला परेकाे थियाे । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाकाे टाेलीले निष्कृय पारेको छ । सोमबार बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो ।
बारामा भारतीय ट्रक जल्यो
बन्दका क्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३, बजनीमा आइतबार बिहान रोकिराखेको भारतीय लरीमा अज्ञात समूहले आगजी गरेको छ । एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरी नेपाल-भारत पेट्रोलियम पाइपलाइनका लागि पाइप बोकोर आएको थियो ।
अर्घाखाँची र बाग्लुङमा शंकास्पद वस्तु फेला
अर्घाखाँचीकाे सन्धीखर्कस्थि आवासीय माविमा शंकास्पद वस्तु फेला परेकाे छ । बाग्लुङकाे बाग्लुङ नगरपालिका २ कुडुलेचाेक नजिकै शंकास्पद वस्तु फेला परेकाे थियाे । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाकाे टाेलीले निष्कृय पारेको छ ।
हेटाैंडामा मिनी ट्रकमा आगजानी र प्रेसर कुकर बम फेला
बन्दकर्ताद्वारा हेटाैंडाकाे चाैकीटाेलमा ७ ख ९४९३ नम्बरकाे मिनी ट्रकमा आगजानी गरेकाे छ । त्यस्तै हेटौँडाकै बुद्धचोक नजिक प्रेसर कुकर बम फेला परेको थियो । बम राखेको थाहा पाउनासाथ प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको छ ।
नवलपुर ट्रकमा पेट्रोल बम प्रहार
यसैगरी नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् ।
मोरङमा प्रेसर कुकर बम फेला
मोरङको सुन्दरहरैंचा ७ ठडिया चोकमा पनि प्रेसर कुकर बम फेला परेकाे थियाे । कुकरमा रातो कपडाले वेरिएको राखिएको अबस्थामामा फेला परेकाे हाे । उक्त प्रेसर कुकर बमलाई सेनाको टोलीले निष्कृय पारेको छ । त्यस्तै मोरङकै बुढिगंगामा पनि शंकास्पद वस्तु भेटिएको छ ।
बुढिगंगा गाउँपालिका–१ आरती स्ट्रिप्स छेउमा रहेको उक्त बम जस्तो देखिने शकास्पद वस्तु फेला परेको छ । निस्क्रिय बनाउन सेनाको बम डिस्पोजल टोली टोली जाँदैछ ।
मकवानपुरमा गाडीमा जलायाे
मकवानपुरको थाहा नगरपालिकामा विप्लव नेतृत्वको नेकपाको क्रममा सोमबार बिहानै गाडी जलाइएको छ। बिहान ४ बजेको समयमा गाडी जलाइएको हो। बन्दका दिन बिहानै थाहा नगरपालिका-१ कुन्छाल नजिकै ना ६ ख ८००७ नम्बरको आइचर गाडी जलाइएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भटराईले बताए ।
रौतहटमा प्रेसरकुकर बम फेला
रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ । उक्त बस्तु बम भएको आशंका गरिएको छ। सूचनापछि नेपाली सेनाको डिस्पोजल त्यहाँ पुगेको प्रहरीले जनाएको छ।
धादिङमा विस्फोटक पदार्थ फेला
धादिङको महादेवबेंशी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको छ । उक्त विस्फोटक पदार्थलाई नेपाली सेनाको निस्क्रिय पारेको छ ।
कपिलवस्तुमा दुई स्थानमा शंकास्पद बस्तु फेला
कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला परेका हाम्रा सहकर्मीहरुले जनाएका छन् ।
बन्दको पूर्वसन्ध्यामा आइतबार अपराह्न काठमाडौंका तीन स्थानमा बम विफोट हुँदा चार जनाको मृत्यु भएको थियो । सुकेधारा, घट्टेकुलोमा गरी चार जनाको मृत्यु भएको हाे । चन्द्रागिरीस्थित थानकाेटमा समेत विस्फाेट हुँदा ८ जना घाइते भएका छन् ।
आइतबार ललितपुरकाे लगनखेल, ग्वार्को, सातदोबाटोलगायतका स्थानमा पनि शंकास्पद वस्तु भेटिएका थिए । नेपाली सेनाकाे टाेलीले ती स्थानमा राखिएका बम तथा शंकास्पद वस्तु डिस्पाेज गरेकाे थियाे । -न्युज २४ अनलाइन