काठमाडौँ, जेठ ९ गते । नेपालमा यसवर्षको विश्व वातावरण दिवस ‘स्वच्छ वायु स्वस्थ जीवन’ नाराका साथ मनाइने भएको छ । विश्व वातावरण दिवस जुन ५ देखि एकसातासम्म मनाइने वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले बताउनुभयो ।
बुधबार वातावरण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री बस्नेतले नारालाई सार्थक तुल्याउन वातावरण संरक्षण गर्दै प्रदूषण न्यूनीकरण गर्न विशेष अभियान थालनी गर्ने बताउनुभयो ।
“जनतामा एउटा तरङ्ग पैदा गरोस्, अनि वातावरण संरक्षण गर्न प्रेरित गर्दै चेतना छर्न सकोस,” मन्त्री बस्नेतले भन्नुभयो, “आफ्नो ठाउँको वातावरण संरक्षण गर्न बहस गर्ने वातावरण बनोस् ।” जसका लागि उहाँले सङ्घ, प्रदेश, स्थानीय तह, गैरसरकारी संस्था, निजी क्षेत्र सबैसँग सहकार्यको आह्वान गर्न वातावरण विभागलाई निर्देशन दिनुभयो ।
मन्त्रालयका सचिव विश्वनाथ वलीले साताव्यापी कार्यक्रमको पहिलो दुईदिन नेपालगञ्जमा वातावरण र जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिनुभयो । सो सम्मेलनले जारी गर्ने घोषणापत्रको कार्यान्वयनमा स्थानीय, प्रदेश र सङ्घ सबै तहले स्वामित्व लिनसक्ने अवस्था सिर्जना गरिने पनि उहाँले बताउनुभयो । त्यस्तै उहाँका अनुसार देशभर वातावरण संरक्षणका विविध कार्यक्रम पनि सोही दिन हुनेछ । राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद वलीले हरेक मानिसको व्यवहार परिवर्तन गर्ने खालका योजना र कार्यक्रम गर्नुपर्ने औंल्याउनुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सबैको सहभागिताले वातावरण संरक्षणमा सघाउ पुग्ने धारणा व्यक्त गर्नुभयो । हिजोभन्दा आज धेरै सकारात्मक परिवर्तन भएको भन्दै उहाँले अब वातावरण संरक्षणको अभियानको स्वरूप परिवर्तन गर्नुपर्ने बताउनुभयो । प्रदूषण कम गर्ने जिम्मेवारी राज्यको मात्र नभएकाले हरेकले आफ्नो क्षेत्रको प्रदूषण कम गर्न ध्यान दिएमा प्रभावकारी हुने बताउनुभयो ।
वातावरण विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले नेपालगञ्जको कार्यक्रमपछि विभागले गर्ने पाँचदिनको कार्यक्रम राजधानी केन्द्रित रहने जानकारी दिनुभयो ।
“सरकारको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य भेट्न यसपालीको नारा सहायक हुनेछ,” उहाँले थप्नुभयो, “यो सँगै दिगो विकास र पर्यटन वर्ष २०२० को लक्ष्यका लागि पनि यो अभियान सार्थक हुनेछ ।”
त्यस्तै वातावरण विज्ञान केन्द्रीय विभागका रमेशराज पन्तले वातावरण संरक्षणको महाअभियानमा विद्यार्थी, स्वयंसेवी सबैलाई जोड्न जरुरी रहेको औंल्याउनुभयो ।